
बिर्तामोड, मंसिर ३ । जेनजी आन्दोलनको नाममा विध्वंश मच्चाउने क्रममा अस्थायी प्रहरी चौकी गरामनीमा तोडफोड र आगजनी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा बिर्तामोड-८ गरामनीका ३६ वर्षीय गंगाराम लिम्बू र बिर्तामोड-७ मुसहरडाँडाका १९ वर्षीय सेसेहाङ इङ्नाम लिम्बू रहेका छन् ।
हिजो बिहान अस्थायी प्रहरी चौकी गरामनीबाट प्रहरी सहायक निरीक्षक भुपेन्द्र कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले दुवैजनालाई आआफ्नो घरबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका लिम्बू र इङनामलाई इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा राखिएको प्रहरीले जनाएको छ ।
भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा झापाका प्रहरी कार्यालयहरुमा तोडफोड र आगजनी गर्ने विध्वंशकारीहरु हालसम्म १५ जना पक्राउ परेका छन् ।







