२०८२ मंसिर ४ बुधबार
Jhapa Today
Adv top

पर्यटकको आकषर्ण बन्दै तिम्बुङ पोखरी


बिर्तामोड, मंसिर ३ । चार हजार ३३८ मिटर उचाइमा रहेको पूर्वी पहाडको सीमा क्षेत्रमा रहेको तिम्बुङ पोखरीमा आन्तरिक पर्यटकको आगमन बढ्दै गएको छ । ट्रेक गर्न रुचाउने पर्यटकका लागि ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा रहेको यो सुन्दर पोखरीको धार्मिक र प्राकृतिक महत्व रहेको छ ।

कालीखोलामा होमस्टे सञ्चालन गर्दै आएको बिर्तामोडका अमिर राईका अनुसार ताप्लेजुङ र पाँचथरको संगममा रहेको तिम्बुङ पोखरीमा पर्यटकहरुको आगमन विस्तारै बढ्दैछ । पछिल्लो समय देशभरका पर्यटकीय गन्तव्यमा विदेशीसँगै आन्तरिक पर्यटकको चहलपहल बढेको पनि कोशी प्रदेशको चर्चित गन्तव्य तिम्बुङ पोखरीले प्रचारको अभावमा पर्यटक तान्न सकेको छैन ।

तिम्बुङमा धेरैजसो धार्मिक पर्यटनका लागि पुग्छन् । जनैपूर्णिमा र नाग पञ्चमीका दिन धार्मिक आस्था राख्दै पर्यटकहरू पुगे पनि अन्य समयमा प्रायः सुनसान नै हुने उनले बताए । यहाँ पर्यटक आगमन बढाउन पहल भइरहेको राई बताउँछन् । स्थानीय सरकारसँग सहकार्य गर्दै विभिन्न समिति नै बनाएर पनि तिम्बुङको विकासका लागि अहिले दुबै जिल्लाका स्थानीय बासिन्दा लागिपरेका छन् ।

बाह्रै महिना तिम्बुङमा पर्यटक भित्र्याउन सिदिङवा गाउँपालिकाले विभिन्न गतिविधि गर्दै आएको निमित्त प्रमुख प्रशासकीय अधिकृत तिबेन्द्र अधिकारीले बताए । गत भदौ अन्तिम साता तिम्बुङ टे«ल रनको आयोजना गरिए पनि जेन्जी आन्दोलनका कारण रोकिएको थियो । गाउँपालिकाले पर्यटन कार्यालय काँकरभिट्टाको सहकार्यमा रनको आयोजना गरेको थियो ।

खेलकुदलाई पर्यटनसँ जोडेर नेपाल र भारतका खेलाडी सहभागी गराइएको रनमार्फत तिम्बुङ पोखरीको व्यापक प्रचार गर्ने अपेक्षा गरिएको थियो ।

तिम्बुङमा असोजदेखि बैशाख महिनासम्म हिउँ पर्छ । हिउँ हेर्न र खेल्न रूचाउनेका लागि यो उपयुक्त समय र गन्तव्य बन्न सक्ने अधिकारीले बताए । यसको अर्को विशेषता भनेको पोखरी आसपासमा फूल्ने ’केन्जो’ अर्थात् पदमचाल फूल हो । त्यस्तै भेडा, चौरी र उराङका गोठ हुन् । विशेषगरी चैत/वैशाखमा तिम्बुङ जाँदा केन्जोले स्वागत गर्छ ।

तिम्बुङ पोखरीको अनुपम सौन्दर्यले मन फुरुंग हुन्छ । चट्टाने पहाडबीचमा रहेको पोखरी आश्चर्यलाग्दो छ । पोखरी दर्शनको क्रममा देखिने बादल र घामको लुकामारी पहिलोपल्ट तिम्बुङ पुग्नेका लागि रोमाञ्चक लाग्छ भने फर्किसकेपछि मीठो सम्झना बन्छ । करिब ४०० मिटर लम्बाइ र २०० मिटर चौडाइ रहेको स्वच्छ–निर्मल पानीले भरिएको पोखरी हेरेर कहिल्यै धित मर्दैन ।

हिमालको काखमा रहेको सुन्दर पोखरी, विभिन्न प्रजातिका लेकाली जडीबुटी र फूलको बास्ना, लेकाली वन्यजन्तु र पक्षीका सुमधुर आवाज, कतै फराकिला नागी चउर त कतै आङ नै जिरिङ्ग हुने चट्टाने पहरा, छुट्टै दुनियाँ जस्तो लाग्ने चौरी गोठालेको जिन्दगी तिम्बुङ यात्राका मुख्य सौन्दर्य हुन् । यहाँ पदमचाल, केन्जो, माइकोपिला, पाँचऔंले, बिख्मा, कुटी, खोकिम जस्ता फूल र जडीबुटी पाइन्छ ।

विगतमा तिम्बुङ पुग्नेहरूका लागि भेडी गोठ मात्र आवास सुविधा थियो । होटल थिएन । अहिले जुनसुकै समयमा जानेका लागि सामान्य होटलहरू बाटोमा छन् । तिम्बुङ पोखरी वरपर हाँडी पोखरी, तावा पोखरी, लक्ष्मी पोखरी, दूध पोखरी, मयुर पोखरी, नीर पोखरी लगायत दर्जन पोखरी छन् । यसलाई पूर्वको गोसाइकुण्ड समेत भनिन्छ । पोखरीबाट चार हजार ६ सय मिटरको उचाइमा जाने हो भने आधा दर्जन हिमाल हेर्न पाइने उनले जानकारी दिए ।

कसरी पुग्ने
झापाको बिर्तामोडबाट ताप्लेजुङको कालीखोलासम्म गाडीमै जान सकिन्छ । मेची राजमार्ग पछ्याएर पाँचथरको गणेशचोकबाट मध्यपहाडी लोकमार्ग प्रयोग गरेर पाँचथरको थर्पु, ताप्लेजुङको साब्लाखुबाट कालीखोला हुँदै तिम्बुङ पुग्न सकिन्छ । इलामको पशुपतिनगरबाट सन्दकपुर–फालोट रुट प्रयोग गरेर पनि तिम्बुङको मनसुनी यात्रा तय गर्न सकिन्छ ।

झापाबाट हिँडेको दोस्रो दिन पदयात्रा सुरू हुन्छ । कालीखोलाको आकासेबाट नुनथलासम्म र चौथो दिन नुनथलाबाट ठुलो भञ्ज्याङ हुँदै तिम्बुङ पोखरी पुगिन्छ । पोखरीमा एक दिन बिताएपछि त्यसको भोलिपल्ट कालीखोलासम्म फर्किइन्छ । कालीखोलाबाट एक दिनमा बिर्तामोड आइपुगिन्छ ।

Adv footer