
बिर्तामोड, मंसिर ३ । संयुक्त अरब इमिरेट्स (युएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा आंशिक रूपमा खुला गरेको छ । भिजिट भिसा र वर्किङ भिसामा कडाइ गरेको युएईले भिसा आंशिक रूपमा मात्रै खुला गरेको हो ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि युएईले नेपालीलाई भिजिट तथा वर्किङ भिसा दिन कडाइ गरेको थियो । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै भिसामा कडाइ गरेको युएईले आंशिक रूपमा सहज बनाएको हो ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव कुन्छा दोर्जे डिम्दोङले विशेष सेक्टरमा भिसा जारी भएको पाइएको बताए । उनका अनुसार सरकारी तथा गैरसरकारी क्षेत्रका वर्किङ भिसा जारी भइरहेको छ तर, अन्यको हकमा कुनै जानकारी दिइएको छैन ।

‘पहिला बाँकी रहेकोहरूको जारी भइरहेको छ । त्योबाहेक विशेष सेक्टरमा भिसा आइरहेको छ । सेमी गभर्मेन्ट तथा सरकारसँग जोडिएका कम्पनीहरूको भिसा एप्रुभल भइरहेको छ’, डिम्दोङले भने ‘स्पेशल अप्प्रुभल मात्रै भइरहेको छ ।’
त्यस्तै, भिजिट भिसाको हकमा समेत आंशिक मात्रै खुला गरिएको उनले बताए । युएईले १६ नोभेम्बरमा मात्रै १८ जना नेपालीको भिसा जारी गरेको थियो ।
परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार पूर्ण रूपमा बन्द नभएको र आंशिक रूपमा भिसा जारी भइरहेको छ । नेपालले भिसामा देखिएको असहजता हटाउन युएई सरकारसँग निरन्तर छलफल तथा सम्वाद गरिरहेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले यस विषयमा सम्बन्धित निकायसँग समन्वय र छलफल चलिरहेको बताए ।
युएईले भदौ ३० गतेदेखि भिसामा कडाइ गरेको थियो । भिसामा कडाइ गर्नुको औपचारिक जानकारी नदिएको युएईले अनौपचारिक रूपमा भने नेपालको जेनजी आन्दोलनपछि देखिएको सुरक्षा चुनौतीलाई कारण देखाएको थियो ।







