
बिर्तामोड, मंसिर ७ । सहकारी क्षेत्रको एक मात्रै बैंक राष्ट्रिय सहकारी बैंकमा झापा बिर्तामोडको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको शेयर दोस्रो धेरै रहेको छ ।
सहारा नेपालको २.९१ प्रतिशत अर्थात् ८ करोड ४० लाख १० हजार रुपैयाँको शेयर रहेको छ । यही संस्थाको प्रतिनिधित्व गर्दै महेन्द्रकुमार गिरी बैंकको अध्यक्ष छन् । झापाकै नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको १ करोड ५२ लाख ९२ हजार रुपैयाँ शेयर सहकारीमा बैंकमा रहेको छ ।
त्यस्तै, बैंकमा सबैभन्दा बढी शेयर हुनेमा रुपन्देहीको लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेको छ । संस्थाको ३.४६ प्रतिशत अर्थात् १० करोड रुपैयाँको शेयर बैंकमा छ ।

सहकारी बैंकमा १६ हजार ४२६ सदस्य आवद्ध छन् । बैंकमा सहकारीहरुको ९९.६२ प्रतिशत अर्थात् २ अर्ब ८८ करोड ६० लाख ८ हजार ९ सय रुपैयाँ र नेपाल सरकारको ०.३८ प्रतिशत अर्थत् १ करोड ८ लाख ९९ हजार रुपैया सेयर हिस्सा छ ।
आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म सहकारी बैंकको शेयर पुँजी २ अर्ब ८९ करोड १५ लाख ७ हजार ९ सय रुपैयाँ छ । जसमध्ये २१.६३ प्रतिशत अर्थात् ६२ करोड ५५ लाख ३५ हजार रुपैयाँ १८ वटा प्रारम्भिक सहकारीको शेयर रहेको छ ।






