
बिर्तामोड, मंसिर ९ । जेन्जीका नाममा काठमाडौँमा विध्वंश मच्चाउने झापाका दुईजनासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका एकजना कांग्रेसका विवादित नेताका छोरा छन् ।
पक्राउ पर्नेमा झापा दमक-६ प्रशान्ति टोल बस्ने कांग्रेस नेता विश्वदीप लिङदेनका छोरा २९ वर्षीय विश्व लिङदेन, दमक-९ बस्ने २६ वर्षीय सरोज पुरी र इलाम चुलाचुली-४ आइतबारे बस्ने ३० वर्षीय पवन हाङसुङ्वा रहेका छन् ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा काठमाडौँ महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट लुटिएको दुईवटा हतियार र २० राउन्ड गोलीसहित उनीहरु पक्राउ परेका हुन् ।

हिजो राति लागुऔषध नियन्त्रण ब्युरो कार्यलय काँकरभिट्टा र दमक प्रहरीले दमक ९ स्थायी ठेगाना भई दमक ८ मा डेरा बस्दै आएका पुरीलाई एकथान ठुलो चापे टाइप ५४ चाइनिज पेस्तोल र सोको १५ राउन्ड गोलीसहित पक्राउ गरेको थियो ।
उनलाई इलाका प्रहरी कार्यालय दमकमा ल्याएर सोधपुछ गर्दा उनले कांग्रेस नेता लिङदेनका छोरालाई अर्को हतियार राख्न दिएको बताएका थिए ।
त्यसको आधारमा लिङदेनलाई उनको घरबाटै पक्राउ गरिएको थियो । लिङदेनलाई थप सोधपुछ गर्दा उनले इलाम चुलाचुली ४ बस्ने पवनलाई २० हजार रुपैयाँमा सो हतियार बेचेको बताएका थिए ।
त्यसपछि लामो खोजीपछि काँकरभिट्टा शाखा कार्यालय र दमक प्रहरीको संयुक्त टोली इलाम पुगेको थियो । त्यहाँ पवन हाङसुङ्वाको बारीमा खाल्डो खनेर रातो प्लास्टिकको झोलामा लुकाइ राखिएको टाइप–५४ चाइनिज पेस्तोल एकथान, राउन्ड ५ (पेस्तोलमै लोड गरिएको अवस्थासहित) भेटिएको थियो ।
बरामद हतियारसहित तीनैजनालाई थप अनुसन्धानका लागि काठमाडौं पठाइएको प्रहरी स्रोतले बताएको छ ।






