
बिर्तामोड, मंसिर १५ । संशोधित औषधि ऐनविरुद्ध करिब डेढ महिनादेखि आन्दोलित बनेका औषधि व्यवसायी र सरकारबीच सहमति जुटेको छ । आज ३ बुँदामा दुई पक्षबीच सहमति भएको हो ।
नेपाल औषधि व्यवसायी संघका केन्द्रीय सदस्य गौतम गुप्ताका अनुसार स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभाग र व्यवसायीबीच आज भएको त्रिपक्षीय वार्तामा औषधि ऐन २०३५ को दफा ११ को उपदफा ३ लाई संशोधन र उपदफा ५ को खारेजी गर्ने सहमति जुटेको हो ।
सहमति जुटेसँगै औषधि व्यवसायी संघले आफ्ना आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । सहमतिपछि संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो मागअनुरुप गर्ने गराउने र हामीले गरेको आन्दोलन स्थगित लिने भनी सम्झौता भएकाले भोलिदेखि पूर्व निर्धारित सम्पूर्ण आन्दोलनहरु स्थगित गरिएको बारे जानकारी गराउँदछौँ ।’
आजको वार्तामा नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ, नेपाल आयुर्वेद औषधि व्यवसायी संघ र नेपाल औषधि आयातकर्ता संघका प्रतिनिधि पनि सहभागी थिए ।




