
बिर्तामोड, मंसिर १८ । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस विजयी भएको छ । पुलिसले न्यु डायमन्ड क्लबलाई हराएको हो ।
आज भएको दोस्रो खेलमा पुलिसले न्यु डायमन्डलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले १९–२५, १४–२५ र १७–२५ को सोझो सेटमा न्यु डायमन्डलाई स्तब्ध पारेको थियो ।
खेलको प्लेयर अफ द म्याच पुलिसकी रिमा कुँवर भइन् । उनलाई नगद सौजन्यकर्ता व्यवसायी बलराम कार्कीलगायतले नगद पाँच हजार र ट्रफी प्रदान गरे ।
भोलिको पहिलो खेल एभरेस्ट भलिबल क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । सोही दिन दोस्रो खेल कोशी प्रदेश भलिबल टिमले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।
प्रतियोगितामा सहभागी ६ टिमलाई दुई समूहमा बाँडिएको छ । समूह ‘ए’ मा एपिएफ, एभरेस्ट र त्रिभुवन आर्मी छन् । त्यस्तै, समूह ‘बि’ मा न्यु डायमन्ड, कोशी प्रदेश र नेपाल पुलिस रहेका छन् ।
मंसिर २० गते पहिलो सेमिफाइनल खेल बिहान ९ बजे समूह ‘ए’ को विजेता र समूह ‘बि’ को उपविजेताबीच हुनेछ । सोही दिन अन्तिम सेमिफाइनल खेल दिउँसो २ः३० बजे समूह ‘बि’ को विजेता र समूह ‘ए’ को उपविजेताबीच हुनेछ ।
अर्जुनधारा–६ मा रहेको लक्ष्मी माविको मैदान जारी प्रतियोगिताको फाइनल खेल मंसिर २१ गते हुने सहआयोजक लक्ष्मी माविका अध्यक्ष वीरबहादुर राईले बताए ।
झापामा राष्ट्रियस्तरको महिला भलिबल पहिलोपटक भएको हो । प्रतियोगिताको विजेताले २ लाख, दोस्रोले १ लाख र तेस्रो हुने टोलीले समान ३० हजार रुपैयाँ पुरस्कार पाउने आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताए ।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले १५ हजार पाउँदा, प्रत्येक दिनको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर र बेस्ट लिबेरोले १० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक प्रभा काम्बाङले बताइन् ।




