२०८२ मंसिर २२ सोमबार
Jhapa Today
Adv top

झापामा जडान भएका ४२ प्रतिशत बायोग्यास बन्द


बिर्तामोड, मंसिर २२ । झापामा जडान गरिएकामध्ये लगभल आधा बायोग्यास प्लान्टहरू विस्थापित भएको पाइएको छ । नवीकरणीय ऊर्जाका रुपमा स्थापित बायोग्यास प्लान्टहरू अहिले प्रयोगविहीन छन् ।

झापामा जडान गरिएकामध्ये ५८ प्रतिशत बायोग्यास प्लान्टहरू मात्र सञ्चालनमा रहेको काठमाडौँ विश्वविद्यालय नवीकरणीय तथा दिगो ऊर्जा प्रयोगशालाले गरेको एक अध्ययनले जनाएको छ ।

अध्ययनअनुसार धेरै प्लान्ट भत्किएको, ग्यास ट्याङ्की (डाइजेस्टर) चर्किएको, मिक्सर (घुलाउने यन्त्र) जाम भएको र पाइपलाइन खिया लागेको अवस्थामा भेटिएको छ ।

अध्ययन अनुसार प्राविधिक असफलता, ग्रामीण जीविकोपार्जनमा आएको परिवर्तन र त्रुटिपूर्ण नीतिगत ढाँचाले राष्ट्रिय बायोग्यास प्रबद्र्धन कार्यक्रम कमजोर बनेको हो ।

नेपालमा ४ लाख ५० हजार घर परिवारमा बायोग्यास प्लान्ट प्रणाली जडान गरिएको थियो । सबैजसोमा सरकारले अनुदान दिएको थियो । सोहीअनुसार अर्बाैं रुपैयाँको राष्ट्रिय सम्पत्ति नोक्सान भएको समेत प्रतिवेदनमा उल्लेख छ ।

बायोग्यास प्लान्टले स्वच्छ विकास संयन्त्र अन्तर्गत कार्बन उत्सर्जनमा कमी गरे पनि मर्मत सम्भार र अनुगमनमा लगानी नगन्य हुँदा मानिस एलपी ग्यासमा फर्कन बाध्य भएको पाइएको छ ।

अहिले नेपालले खाना पकाउने ग्यासको आयातमा मात्र ५२ अर्ब रुपैयाँ हाराहारी वार्षिक खर्च गरिरहेको छ । दाउराको प्रयोगबाट ६६ मिलियन टन कार्बन उत्सर्जन हुने देखिएको छ ।

Adv footer