२०८२ मंसिर २३ मंगलबार
Jhapa Today
Adv top

घिमिरेलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार


बिर्तामोड, मंसिर २३ । झापा दमकका युवा पत्रकार चिरञ्जीवी घिमिरेलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार २०८२ प्रदान गरिएको छ । अमेरिकाको टेक्सासस्थित हेम–सरिता फाउन्डेसनको सहकार्यमा नेपाल पत्रकार महासंघ झापाले स्थापना गरेको पुरस्कारबाट घिमिरे पुरस्कृत भएका हुन् ।

पुरस्कारबापत उनले नगद ५० हजार ५५५ रुपैयाँ र सम्मानपत्र पाए । २०७० सालदेखि पत्रकारिता गर्दै आएको घिमिरे नयाँ पत्रिका दैनिकमा आवद्ध छन् । अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्ध दिवसको अवसरमा घिमिरेलाई पुरस्कृत गरिएको हो ।

भ्रष्टाचारको अन्त्य र सुशासनको प्रवर्द्धनमा टेवा पुर्‍याउने पत्रकारका लागि प्रोत्साहन प्रदान गर्ने उद्देश्यले स्थापित पुरस्कार २०८१ बाट पत्रकार इन्दु गौतम र सुरेन्द्र भण्डारी संयुक्त रुपमा पुरस्कृत भएका छन् । गत वर्षको पुरस्कार उनीहरुलाई पनि आज प्रदान गरिएको हो ।

कार्यक्रमकै बीच महासंघले लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानको सामाचार लेखनका लागि पत्रकार जोस्ना श्रेष्ठ र रञ्जीता खड्कालाई पाँचपाँच हजार रुपैयाँको लेखनवृत्ति प्रदान गरिएको थियो ।

महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष डा. कुमार आचार्य, महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का, झापाका पूर्वअध्यक्ष केशव आचार्यल र पुरस्कृत प्रतिभा घिमिरेले मन्तव्य राखेका थिए ।

महासंघका सचिव राजु पाठकले सञ्चालन गरेको कार्यक्रमको स्वागत उपाध्यक्ष सुब्रत न्यौपानेले गरेका थिए भने प्रतिभाको संक्षिप्त परिचय उपाध्यक्ष विनिशा शर्मा गौतमले प्रस्तुत गरेकी थिइन् ।

Adv footer