२०८२ मंसिर २३ मंगलबार
Jhapa Today
Adv top

धुलाबारीमा इस्ट होराइजनको अगुवाईमा कुलतविरुद्ध सचेतना र्‍याली


बिर्तामोड, मंसिर २३ । झापाको धुलाबारीमा इस्ट होराइजन अंग्रेजी स्कुलको अगुवाईमा बालबालिका तथा किशोरकिशोरीमा लागुऔषध, सूर्तीजन्य पदार्थ र मदिरा प्रयोगविरुद्ध अभियान सुरु गरिको छ ।

आज होराइजनका विद्यार्थी, पूर्वविद्यार्थी समाज, मेची उद्योग वाणिज्य संघ, रोटरी क्लब अफ मेचीनगर लगायतका सामाजिक संघ–संस्थाहरुको सहकार्यमा धुलाबारीमा चारैतिरबाट ब्यानर र र्‍यालीसहित प्रदर्शन गरिएको हो ।

कानुनले विद्यालयको एक सय मिटर क्षेत्रभित्र सूर्तीजन्य तथा मादक पदार्थ खुलेआम बिक्री वितरण गर्न नपाइने भनेको छ । तर, कानुन कार्यान्वयन ती वस्तुहरु खुलेआम रुपमा बिक्री वितरण भइरहेकोप्रति र्‍याली केन्द्रित रहेको थियो ।

विद्यार्थी, अभिभावक, व्यापारीहरुलाई सचेत गराउने उद्देश्यले इस्ट होराइजन माविको फ्यान क्लबले नगरका सामाजिक संघ–संस्थाहरुसँग छलफल गरेर अभियान सुरुवात गरेको हो ।

विद्यार्थीलाई कुलतबाट बचाऔँ, जाँडरक्सी बेच्ने पाइँदैन लगायतका नारासहित विद्यार्थी र सामाजिक संघ–संस्थाहरुले धुलाबारी बजार सिरान, दक्षिणमा ज्यामिरगढी, पूर्वमा काँकरभिट्टा रोड र पश्चिममा चारआली रोड हुँदै टोल–टोलमा सचेतामूलक र्याली गरेका थियो ।

‘जिम्मेवार नागरिकको दायित्व, नाबालकलाई प्रतिबन्धित वस्तुहरु नबेच्ने प्रतिबद्धता’ लेखिएको स्टिकर धुलाबारी बजारमा टाँसिएको छ ।

र्यालीपछि कोणसभामा मेचीनगर नगरपालिका, इलाका प्रहरी कार्यालय धुलाबारी, मेची उद्योग वाणिज्य संघ, धुलाबारी जेसिज, मेचीनगर लेडी जेसिज, फ्यान क्लब मेचीनगर, रोटरी क्लब अफ मेचीनगर, रोट्रयाक मेचीनगर, सञ्जीवनी महिला समूह, इस्ट होराइजन पूर्व विद्यार्थी समाज, युथ अफ मेचीनगर, प्रेस क्लब मेचीनगर लगायतको बृहत सहभागिता रहेको थियो । उनीहरुले उक्त अभियानमा साझा ऐक्यबद्धता समेत व्यक्त गरेका थिए ।

कोणसभामा नगरपालिका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, मेचीनगर–१० का वडा सदस्य विशाल कार्की, असई विनिता शेर्पा, अग्रज पत्रकार मोहन काजी, मेची उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्री, महिला नेतृ रेणुका डाँगी, होराइजनका पूर्व विद्यार्थी समाजका अध्यक्ष भूमि पौडेल, रोटरी क्लब अफ मेचीनगर अध्यक्ष शर्मिला पाठक, सामाजिक अभियन्ताहरु जयराम दाहाल, प्रकाश खड्का, आयुष गुप्ता लगायतले सूर्तीजन्य तथा मादक पदार्थ र लागुऔषध विरुद्धको अभियानमा सबै मिलेर न्यूनीकरण गर्नुपर्नेमा जोड दिएका थिए ।

इस्ट होराइजन मावि फ्यान क्लबकी अध्यक्ष योगिता साहीको अध्यक्षतामा सम्पन्न कोणसभाको सञ्चालन सहसचिव निर्जला गौतमले गरेकी थिइन् ।

Adv footer