बिर्तामोड, मंसिर २४ । झापाको कनकाई नगरपालिकामा भएको एक विवाह कार्यक्रममा नाच्ने विषयमा विवाद हुँदा कुटाकुट परेको छ । कनकाई २ सुकेडाँगीमा बिहेघरमा नाच्ने विषयमा विवाद हुँदा पाँचजना घाइते भएका छन् ।
घाइते हुनेहरुमा वडा नम्बर २ का १८ वर्षीय मनिष श्रेष्ठ, सोही वडाका ३४ वर्षीय भीम राई, वडा नम्बर ३ का १८ वर्षीय प्रिन्स ठकुरी, सोही वडाका १८ वर्षीय आदित्य चिमरिया र १८ वर्षीय युकेश न्यौपाने रहेका छन् ।
घाइतेहरुको कनकाई नगर अस्पताल सुरुङ्गामा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय सुरुंगाले अनुसन्धान सुरु गरेको छ ।
हिजो राति ११ बजे कनकाई २ सुकेडाँगीका धनबहादुर लिम्बूको घरमा वैवाहिक कार्यक्रममा जन्ती आएको समूहसँग नाच्ने क्रममा एकआपसमा झगडा तथा कुटपिट भएको हो ।




