
बिर्तामोड, मंसिर २५ । भारतको गोवा आगलागीमा मृत्यु भएका दुईजना झापाली युवाको शव घर ल्याइएको प्रहरीले जनाएको छ । गोवामा चार दिनअघि भएको आगलागीमा उनीहरुको मृत्यु भएको थियो ।
भारत गोवाको नाइट क्लबमा आगलागी हुँदा भद्रपुर-३ गोलेचोक बस्ने २० वर्षीय सबिन विक र कचनकवल-२ बालुबाडी बस्ने २१ वर्षीय सुदिप गुरुङको मृत्यु भएको थियो ।
उनीहरुको शव हिजो दिउँसो २ बजे भद्रपुर नाका ल्याइएको हो । आफन्तले अन्त्येष्टिको लागि शव बुझेर नेपाल ल्याएको झापा प्रहरीले जनाएको छ ।
सुदिपको अन्त्येष्टि हिजै गरिएको र सबिनको आज गरिने आफन्तले जनाएका छन् । सुदिप होटेल मेनेजमेन्ट अध्ययनका लागि तिहारपछि गोवा गएका थिए ।
सविन केही वर्षदेखि सो नाइट क्लबमा कुकको रूपमा कार्यरत रहेको बुझिएको छ । सो घटनामा चार नेपालीसहित २५ जनाको मृत्यु भएको थियो । मृत्यु हुने अन्य दुई नेपालीको नाम र वतन खुल्न सकेको छैन ।




