
बिर्तामोड, मंसिर २७ । झापाको कनकाईस्थित सुरुंगामा रहेको पूर्वकै चर्चित र पर्यटकको आकर्षक गन्तव्य ह्याप्पी ल्यान्ड फनपार्क एन्ड रिसोर्ट प्रालिले थप सेवा विस्तार गरेको छ । फन पार्कले पत्रकार सम्मेलन गर्दै सेवाहरुलाई अत्याधुनिक, आकर्षक र अन्तर्राष्ट्रियस्तरमा विस्तार गरेको जनाएको हो ।
आन्तरिक र भारतीय पर्यटकको घुम्ने र रमाउने प्रमुख केन्द्र बन्दै आएको ह्याप्पी ल्यान्ड फन पार्क सञ्चालक समितिका अध्यक्ष किरण शाखले मंसिर २६ गतेबाट नविन रुपमा विकसित तथा विस्तारित पार्कको शुभराम्भ गरेको जानकारी गराएका छन् ।
८ वर्ष सञ्चालनको अनुभवलाई आधार बनाएर कोभिड–१९ पछि नयाँ प्रबन्धक समूहको नेतृत्वपछि पार्कमा आधुनिकीकरण, पुनर्निर्माण तथा विस्तारको काम तीव्र गतिमा अघि बढाएको अध्यक्ष शाखले बताए । उनले सोही क्रममा थप ३ बिघा क्षेत्रफलमा पार्कलाई अझ विशाल, व्यवस्थित आकर्षक बनाइएको जानकारी गराए ।

उनका अनुसार विस्तारित क्षेत्रमा आधुनिक, प्राविधिक नयाँ रोमाञ्चक राइडरहरु थपिएसँगै २० भन्दा बढी आकर्षक सेवाहरु पूर्ण रुपमा तयार भएको छ । पार्कमा नयाँ आकर्षण तथा विशेष सुविधाका रुपमा संगीत, प्रकाश र पानीको तालमेलमा प्रस्तुत अत्याधुनिक फाउन्टेन पार्क र ओम उच्चारण गरेर आफ्नो ऊर्जा परीक्षण गर्ने नविनतम पानीको फोहोरा अर्थात ओम फाउन्टेन रहेको छ ।
त्यस्तै, पार्कमा जिप साइन, रेनबो स्लाइड, रोलर कोस्टर, ड्रिफ्ट कार, ३६० डिग्री राइड, ड्राइ ट्युब स्लाइड, वेभ पुल, वाटर स्लाइड, रेन डान्स, अनपावर जिप लाइन, अनपावर रोलर कोस्टर, रोटेपिङ, कोलम्बस, चिल्ड्रेन पार्क, स्केटिङ, फिस स्पा, भिआर गेम, टिकटक पिङलगायतका अन्य धेरै सेवाहरु उपलब्ध रहेको पार्कले जनाएको छ ।

पार्कमा सहासिक खेल समेत समावेश भएकोले टिकट लिएर प्रवेश गर्ने सबैको दुर्घटना बीमासमेत गरिएको छ । पार्कमा पूर्वी नेपालसहित देशभरका साथै भारतको पश्चिम बङ्गालसहित विभिन्न स्थानबाट पर्यटकहरु आउने गरेका छन् ।
पार्क विस्तारले स्थानीय रोजगारीमा बृद्धि, आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धन, व्यावसायिक सम्भावनाको विस्तार जस्ता क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा पार्क सञ्चालकको रहेको छ । पत्रकार सम्मेलनमा पार्कका सञ्चालक रामभक्त लामा, दिनेश सिलवाल, म्यानेजर लक्ष्मी सापकोटाको उपस्थिति रहेको थियो ।

यसैबीच, अध्यक्ष शाखले केही समयमै सुरुंगामा पाँचतारे होटल सञ्चालनको तयारी सुरु गरिने जानकारी दिए । क्यासिनोसहितको सो होटलमा आएका पाहुनालाई पार्क प्रवेशमा कुनै शुल्म लाग्ने छैन । त्यस्तै, आइपिओ जारी गर्ने तयारी पनि भइरहेको उनले जानकारी दिए ।




