
बिर्तामोड, मंसिर २९ । नेपाल औषधि व्यवसायी संघ कोशी प्रदेशले भारतीय औषधि उत्पादक कम्पनी ‘एर्लागन’ का उत्पादनहरूको खरिद तथा बिक्री वितरण फुकुवा गरेको छ ।
कम्पनीको नेपालका लागि आधिकारिक आयातकर्ता प्रिया ट्रेडिङ प्रालिले व्यवसायीहरूको माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता जनाएपछि संघले औषधिको खरिद फुकुवा गरेको हो ।
सोमबार आयातकर्ता कम्पनीले संघको विधानअनुसार नै म्याद गुज्रिएका औषधिको सोधभर्ना दिने सहमतिपत्र पठाएपछि समस्या समाधान भएको हो ।
नेपाल औषधि व्यवसायी संघ कोशी प्रदेशका अध्यक्ष धनराज काफ्लेले व्यवसायीहरूको माग पूरा भएको जानकारी दिँदै अब उक्त कम्पनीका औषधि निर्धक्क खरिद गर्न प्रदेशभरका व्यवसायीहरूलाई आह्वान गरेका छन् ।
के थियो विवाद ?
विशेषगरी आँखासम्बन्धी जेल तथा ड्रपहरू उत्पादन गर्ने एर्लागन कम्पनीको आयातकर्ता प्रिया ट्रेडिङले म्याद गुज्रिएका औषधि फिर्ता लिने सन्दर्भमा आफूखुसी नियम लाद्न खोजेपछि विवाद सुरु भएको थियो ।
आयातकर्ताले औषधिको म्याद सकिएको ९० दिनपछि फिर्ता नलिने अडान राखेको थियो । यता, नेपाल औषधि व्यवसायी संघको ‘सोधभर्ना तथा क्षतिपूर्ति नियमावली–२०६५ (संशोधित २०८१) अनुसार म्याद गुज्रिएका औषधिहरू खुद्रा बिक्रेता (रिटेलर) बाट १८ महिनासम्म र थोक बिक्रेता (होलसेलर) बाट २१ महिनासम्म फिर्ता लिई शतप्रतिशत सोधभर्ना दिनुपर्ने स्पष्ट व्यवस्था छ ।
आयातकर्ताले संघको उक्त नियम पालना नगरेको र व्यवसायीलाई मर्का पर्नेगरी अडान राखेको भन्दै संघले आइतबारदेखि कोशी प्रदेशभर एर्लागनका उत्पादन खरिद नगर्ने निर्णय गरेको थियो । संघले आयातकर्तालाई सच्चिन आग्रह गर्दै अन्यथा कठोर कदम चाल्ने चेतावनी दिएको थियो ।
प्रतिबद्धता पत्र आएपछि फुकुवा
संघको चेतावनीपछि आयातकर्ता प्रिया ट्रेडिङ प्रालिका व्यवस्थापक श्याम महर्जनले सोमबार संघलाई पत्र लेख्दै संघको नियमावली मान्न तयार रहेको बताएका छन् । पत्रमा भनिएको छ, “नेपाल औषधि व्यवसायी संघको प्रचलित सोधभर्ना तथा क्षतिपूर्ति नियमावली २०६५ (संशोधित) परिमार्जित २०८१ अनुसार नै क्षतिपूर्ति सोधभर्ना दिइने प्रतिबद्धता जाहेर गर्दछौँ ।”
आयातकर्ता कम्पनीले आफ्नो गल्ती सच्याउँदै व्यवसायीमैत्री नियम मान्न तयार भएपछि संघले खरिदमा लगाएको प्रतिबन्ध हटाएको अध्यक्ष काफ्लेले स्पष्ट पारे । यो सहमतिसँगै अब कोशी प्रदेशका अस्पताल, फार्मेसी र थोक बिक्रेताहरूले एर्लागन कम्पनीका औषधिहरू सहज रूपमा खरिद–बिक्री गर्न पाउने भएका छन् ।




