
बिर्तामोड, पुस ५ । मुख्य चाड ‘दिसोम सोहराई’ कहिले मनाउने भन्दै अन्योलमा रहेका झापाका सन्थाल समुदायले बल्ल आफ्नो मुख्य चाड मनाउने यकिन मिति थाहा पाएका छन् ।
आदिवासी सन्थाल समुदायको उद्गमस्थल भारतको झारखण्ड राज्यस्थित दुम्काको चार दिने भ्रमण पश्चात् स्वदेश फर्किएका टोलीले ‘दिसोम सोहराई’ चाडको यकिन मिति पत्ता लगाएको बताएका छन् ।
सन्थाल समुदायको धर्म, संस्कृति तथा परम्परा संरक्षणको निम्ति भद्रपुर ३ नम्बर वडा कार्यालयको अगुवाइमा १६ सदस्य टोली झारखण्डको दुम्का पुगेका थिए ।
३ नम्बर वडा अध्यक्ष हेमबहादुर कार्कीको नेतृत्वमा दुम्का गएका सन्थाल समुदायका माझीहडाम (मुखिया) हरूले त्यहाँका मठमन्दिर, धार्मिक स्थलहरूको अवलोकन गर्दै धार्मिक व्यक्तित्व तथा विज्ञहरूसँग छलफल तथा भेटघाट गरी ‘दिसोम सोहराई’ चाड मनाउने दिन पत्ता लगाएर फर्किएको हो ।
नेपालीहरूको दसैँ जस्तै ‘दिसोम सोहराई’ चाड सन्थाल समुदायको दसैँ जस्तो नै हो । जनवरी ४ तारिखका दिन यो चाड पूजाआर्चना गरी भित्राउने चलन रहेको बताउँदै वडा अध्यक्ष कार्कीले भने, ‘मुख्यतया पाँच दिन (जनवरी ९ देखि १३ तारिख) सम्म विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम गरी यो चाड मनाउने प्रचलन रहेको छ ।’ तर, यहाँ त कसैले माघ त कसैले फागुनमा आफू अनुकूल समय अनुसार यो चाड मनाउँदै आइरहेको उनले बताए ।
भद्रपुर–३ स्थित हात्तीमारामा माझीथान (सन्थाल समुदायको मन्दिर) मा जनवरी ९ तारिख अर्थात् पुस २५ गते भव्य कार्यक्रमको आयोजना गर्दै स्थानीय सरकारसँग बिदा माग्न ज्ञापनपत्र समेत बुझाउने छन् ।
दिसोम सोहराइको पहिलो दिन गोरु–गाई स्नान (गोठ शुद्धीकरण), दोस्रो दिनमा गोठ पूजा (पशु पूजा), तेस्रो दिनमा मुख्य सोहराई (दिसोम सोहराई), चौथो दिनमा पाहुना र मेलमिलाप र पाँचौँ दिनमा समापन र आशिष् गरी मनाउने चलन रहेको छ । ‘सोहराई’ सन्थाल भाषामा गाई–भैँसी, गोरुजस्ता पशुधनको पूजा तथा सम्मान गर्ने चाड हो ।
राष्ट्रिय जनगणना २०७८ का तथ्याङ्कअनुसार सन्थाल समुदायको कुल सङ्ख्या ५७ हजार ३१० रहेको छ । जसमा झापा र मोरङ जिल्लामा ठुलो हिस्सा बसोबास गर्छन् । झापामा मात्रै करिब ३५ हजार सन्थाल समुदायको बसोबास छ ।





