
बिर्तामोड, पुस ६ । झापाको बिर्तामोड–४ मा रहेको गोमेन्द्र बहुमुखी कलेजले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ । कलेजले चिरायु पार्टी प्यालेसमा एक समारोहको आयोजना गरेर नवआगन्तुक बिबिए, बिसिए आइटी, बि–टेक आइटी र एमबिए प्रथम सेमिस्टारका विद्यार्थीहरुलाई स्वागत गरेको हो ।
कलेजकी संस्थापिका बुध खनालको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षासेवी, साहित्यकार, समाजसेवी तथा दानवीर प्राज्ञ लोकनाथ पौड्यालको प्रमुख आतिथ्य रहेको थियो । स्वागत कलेजकी सहायक प्राचार्य सरु भुर्तेल खनालले गरेको कार्यक्रममा औचित्यमाथि प्रकाश कलेजका प्राचार्य डा. रुपकप्रसाद खनालले पारेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि पौड्याल, दृष्टिविहीनका अभिभावक खिलप्रसाद शिवाकोटी, लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष यशोदा उप्रेती, वीरता लेडी जेसीजकी पूर्वअध्यक्ष संगीता गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सोही कार्यक्रमका बीच गोविन्द–इन्द्र भूर्तेल पुरस्कारबाट विद्यार्थी भावना राजवंशी र शिक्षा सेवा पुरस्कारबाट कलेजका कर्मचारी मित्रलाल प्रसाईंलाई सम्मान गरिएको थियो । उनीहरुलाई जनही ५ हजार ५५५ रुपैयाँसहित पुरस्कृत गरिएको कलेजका प्राचार्य डा. खनालले बताए ।
कार्यक्रमको सञ्चालन बिबिए को–अर्डिनेटर शेखर पाण्डेले गरेका थिए । कलेजले आगामी शैक्षिक सत्रबाट बिए एलएलबी र बिएससी–सिएसआइटी कोष पनि सञ्चालन गरिने प्राचार्य डा. खनालले जानकारी दिए । स्वागत कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए ।





