
बिर्तामोड, पुस ६ । झापाको एउटा इन्टरलक कंक्रिट उद्योगले स्थानीय तह तथा पूर्वाधार निर्माणसम्बन्धी कार्यालयका कर्मचारी र जनप्रतिनिधिसँगको मिलेमतोमा राज्यकोषमा ब्रम्हलुट गरिरहेको अन्य उद्योगीहरुले आरोप लगाएका छन् ।
व्यवसायीले नेपाल गुणस्तर (एनएस) चिन्हका नाममा सिन्डिकेट खडा गरेर सीमित उद्योगले उत्पादन गरेको इन्टरलक कंक्रिट मात्र प्रयोग गर्न मिल्ने व्यवस्था गरिँदै आएको बताएका छन् । झापाको अजर््ुनधारामा रहेको बिल्डकन उद्योगको उत्पादन मात्र सडक निर्माणमा प्रयोग हुँदै आएको छ ।
नीतिगत तहबाटै एउटा उद्योगलाई लक्षित गरेर ’निश्चित मापदण्डको सामग्री मात्र प्रयोग गर्ने’ निर्णय गर्ने गरिएको अन्य साना उद्यागीहरुको आरोप छ । सेटिङका कारण झापाका ५० वटाभन्दा बढी साना उद्योग बन्द हुने अवस्थामा पुगेका छन् ।
एनएस गुणस्तरको नाममा अन्याय भइरहेको छ उनीहरुको भनाइ छ । जसका कारण नागरिका पनि विकास निर्माणको काममा ठगिँदै आएका छन् । झापा जिल्ला इन्टरलक कंक्रिट उद्योग व्यवसायी संघका अध्यक्ष टिकाराम अधिकारीले ल्याबमा लगेर परीक्षण गरिएको खण्डमा एनएस गुणस्तर प्राप्त गरेकोभन्दा साना उद्योगको उत्पादन बलियो रहेको दाबी गरे ।
ठुलो आर्थिक चलखेलका कारण जिल्लाका ५० भन्दा बढी व्यवसाय सञ्चालन गर्न कठिन भएको उनीहरुको भनाइ छ । अनावश्यक स्थानमा पनि एनएसको नाममा ठुलो रकम खर्च भइरहेकोले राज्यको व्ययभार कम गराउन एनएस प्रयोग गर्नुपर्ने बाध्यकारी अवस्था अन्त्य गर्न साना उद्योगीले अनुरोध गरेका छन् ।
कोशी प्रदेशबाट बिनियोजित रकमले ठेक्का खुल्दै ’एनएस वा सो सरहको ब्लक प्रयोग गर्ने’ भनेर खुलाउने गरेको प्रति नागरिकस्तरबाट आवाज उठ्नुपर्ने अधिकारीले बताए ।
ब्लक निर्माण गरेर संरचना बनाउँदा पाँच वर्षे ग्यारेन्टी हुन्छ । तर, एनएस मान्यता प्राप्त भनेको अर्जुनधाराको बिल्डकन इन्डस्ट्रिजले निर्माण गरेको ब्लक दुई वर्षमै फुट्ने गरेको छ ।





