
बिर्तामोड, पुस ६ । नयाँ चामल आएसँगै मूल्य घट्न थालेको छ । अहिले उद्योगीदेखि खुद्रा व्यवसायीसम्मले चामलको मूल्य घटेको बताएका छन् । व्यवसायीले पुरानो चामलको भाउ २५ किलो बोरामा २५ रुपैयाँदेखि नयाँमा २ सय रुपैयाँसम्म घटेको बताएका छन् ।
व्यवसायीका अनुसार अहिले मोटा, जिरा मसिनो र लङग्रेन चामलको मूल्य घटेको हो । नेपाल चामल, तेल, दाल उद्योग संघका सदस्य विभोर अग्रवाल नयाँ चामलको मूल्यमा १५० देखि २ सय रुपैयाँसम्म कमी आएको बताउँछन् । यो मूल्य प्रति २५ केजी बोराको आधारमा गणना गरिएको हो ।
अहिले बजारमा नयाँ सिजनको धान भित्रिएसँगै नयाँ चामलको उपलब्धता बढेको छ, जसले गर्दा समग्र मूल्यमा गिरावट आएको हो । उनले यसअघि उद्योगबाट १ हजार ९५० रुपैयाँमा बिक्री भइरहेको पुरानो चामल अहिले १ हजार ८ सय रुपैयाँमा बेचिँदै गरेको स्पष्ट पारे । जसमा प्रतिबोरा १५० रुपैयाँ फरक परेको छ ।
उनकाअनुसार चामलका विभिन्न प्रकारमध्ये नयाँ सोना मन्सुली (मोटो) २५ केजी यसअघि १ हजार ५ सय रुपैयाँमा बेचिँदै आएकोमा अहिले १ हजार ३ सय रुपैयाँमा उपलब्ध छ । बजारमा स्टिम जिरा मसिनो चामल पनि १ हजार ८ सयदेखि २ हजार रुपैयाँ कायम भएको छ । यसअघि यो चामलको मूल्य २ हजार ३ सयदेखि २ हजार ४ सय रुपैयाँ थियो ।
अग्रवालका अनुसार चामलको मूल्य घट्नुमा दुई प्रमुख कारण छन् । पहिलो, कात्तिक–मंसिरमा नेपालमा नयाँ धान भित्रिएको छ, जसले बजारमा चामलको आपूर्ति बढाएको छ ।
दोस्रो, भारतले धानमा लगाएको २० प्रतिशत निर्यात शुल्क र चामलमा लगाइएका अन्य सबै शुल्कहरू हटाइसकेको छ । यसले भारतबाट धान र चामल आयात गर्दा लाग्ने लागत घटेको छ, जसको सिधा प्रभाव नेपाली बजारमा देखिएको छ ।
अहिले पनि भारतबाट सस्तो धान आयात गरेर नेपालका मिलहरूले चामल उत्पादन गरिरहेका छन् । भारतले धान चामलमा लगाएको कर हट्नासाथ नेपाली बजारमा धान, चामल आयातमा व्यापारीबीच प्रतिस्पर्धा छ ।





