
बिर्तामोड, पुस ६ । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंले अहिलेकै परिस्थितिमा निर्वाचन गराउनुको कुनै अर्थ नरहेको दाबी गरेका छन् ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले भ्रष्टाचारी र तस्करहरूलाई कानुनी कठघरामा नउभ्याई गरिने निर्वाचनले देशलाई थप संकटमा धकेल्ने बताए । उनले भने, ’भ्रष्टाचारी र हत्याराहरूलाई बाहिर छोडेर गरिने निर्वाचनको कुनै औचित्य छैन । जनताले अब नेताहरूलाई गाउँ छिर्न दिनु हुँदैन ।’
पत्रकार सम्मेलनमा प्रसाईंले देशको आर्थिक अवस्था निकै जर्जर बनेको उल्लेख गरे । विशेषगरी बैंक, लघुवित्त र सहकारीको चर्को ब्याजदरका कारण सर्वसाधारण र महिलाहरू आत्महत्या गर्न बाध्य भएको दाबी गरे ।
६ प्रतिशतमा सम्झौता गरेर १८ प्रतिशतसम्म ब्याज असुल्ने प्रवृत्तिले नागरिकहरू घरबारविहीन भएको उनको आरोप थियो ।
आफू विगतमा गणतन्त्र ल्याउन सक्रिय भए पनि अहिलेको व्यवस्थाले देशलाई समृद्ध बनाउन नसकेको प्रसाईंले स्वीकार गरे । राजा महेन्द्रको पालामा बनेका कलकारखाना र उद्योगहरू अहिलेका नेताहरूले कौडीको भाउमा बेचेको र युवाहरूलाई वैदेशिक रोजगारीमा पलायन हुन बाध्य पारेको उनले तर्क गरे । उनले २०६२÷६३ को आन्दोलनको म्यान्डेट संघीयता र धर्मनिरपेक्षता नभएको समेत दाबी गरे ।
संयोजक प्रसाईंले सरकारलाई आगामी पुस १० गतेसम्मको समयसीमा (अल्टिमेटम) दिए । १० गतेभित्र महाभियानका मागहरू सम्बोधन नगरिए र वार्ताको ठोस पहल नभए ११ गतेदेखि देशव्यापी रूपमा सशक्त आन्दोलन छेड्ने उनले चेतावनी दिए ।
उनले आफ्नो अभियानमा हालसम्म ६० वटा साना दल र विभिन्न संघ–संस्थाहरूले ऐक्यबद्धता जनाएको जानकारी दिए । पत्रकार सम्मेलनमा विभिन्न समूह तथा राजनीतिक दलका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो ।





