
बिर्तामोड, पुस ७ । काँकरभिट्टा नाकाबाट नेपाल ल्याउँदा क्वारेन्टाइन जाँच गर्नु परेपछि बिर्तामोडका माछा व्यापारीले झापाको लसुना र रसुनगञ्ज नाका हुँदै मरेको माछा भित्र्याउँदै आएका छन् ।
प्रहरीसँगको मिलेमतोमा व्यापारीले ती नाकाको प्रयोग गर्दै आएका छन् । आर्थिक लेनदेन नमिल्दा कहिलेकाहीँ अवैध ढंगले नेपाल ल्याइँदै गरेको माछा नियन्त्रणमा आउने गरेको छ ।
यसैबीच, झापा गाउँपालिका- १ स्थित लसुना र रसुनगञ्ज नाकाबाट क्वारेनटाइन जाँचबिना भन्सार छलेर भित्र्याइएको माछा प्रहरीले बरामद गरेको छ । पटकपटक बरामद गरे पनि अझै सो गतिविधि भने रोकिएको छैन ।
हिजो दिउँसो साढे १२ बजे इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ अवैध रुपमा भित्र्याइएको १२० केजी माछा बरामद गरेको छ ।
प्रहरीले झापा गाउँपालिका-४ नयाँ बस्तीमा मोटरसाइकलमा ल्याइँदै गरेको अन्दाजी ५० हजार मूल्य बराबरको सिलङ माछा बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
गत मंसिर २१ गते सोही नाकाबाट भित्र्याइएको ४१७ केजी माछा जिल्ला प्रहरी कार्यालय झापाको टोलीले बरामद गरेको थियो ।
कनकाई-३ मा झापा गाउँपालिकाबाट सुरुङ्गातर्फ लैजाने क्रममा प्रहरीले अन्दाजी मूल्य एक लाख ५० हजारको मुंग्री, सिलङ, रहुँ र बम्प्लेट जातका माछा बरामद गरेको थियो । बरामद गरिएको माछामध्ये मुंग्री माछा नेपालमा प्रतिबन्धित हो ।
माछा कारोबारीहरूले माछाको कार्टुन भारतीय सीमामै खोलेर झोलामा माछा मोटरसाइकलमार्फत नेपाल भित्राएर भण्डारण गर्ने, त्यसपछि भण्डारण गरेका माछा ट्याम्पो तथा पिकअपमा हालेर सुरुङ्गा र बिर्तामोडका बजारसम्म पु¥याउने गरेको कारोबारी स्रोतको दाबी छ ।
सीमा क्षेत्रमा तैथान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट टाघनडुब्बाका सशस्त्र प्रहरीकै मिलेमतोमा माछा भित्रिरहेको स्रोतको दाबी छ । बिर्तामोडको प्रभु माछा पसलले सबैभन्दा बढी माछा त्यसरी ल्याउने गरेको बताइन्छ ।





