
बिर्तामोड, पुस ७ । झापाको झापा गाउँपालिकास्थित कामाटोली बजारमा करिब साढे तीन महिनाअघि अव्यवस्थित इन्टरनेटको तारमा अल्झिएर घाइते भएका एकजना स्थानीय सामाजिक अगुवाको मृत्यु भएको छ ।
तारमा अल्झिएर दुर्घटनामा परेका झापा-६ का शरणामतीका ५५ वर्षीय सहरमान कटवालको मृत्यु भएको छ । उनको हिजो राति १२ः४० बजे आफ्नै घरमा मृत्यु भएको हो ।
गत भदौ १९ गते दिउँसो १ः३० बजे झापा-३ कामाटोली बजारमा उनी चढेको प्र. १–०१–०१७ प ८६२४ नम्बरको स्कुटर इन्टरनेटको तारमा अल्झिएर दुर्घटना भएको थियो ।
बिजुलीको पोलबाट सडक पार गर्दै लगिएको इन्टरनेटको तार ट्रकमा अल्झिएर सडकमा छरपस्ट रहेको थियो । उनी सोही तारमा अल्झिएका थिए ।
उनी शरणामतीबाट झापा बजारतर्फ जाँदै गरेका थिए । घाइते कटवाललाई तत्काल उपचारका लागि बिएन्डसी अस्पताल बिर्तामोड लगिएको थियो ।
टाउको र मुखमा चोट लागेर गम्भीर घाइते भएका कटवाललाई बिएन्डसीबाट केएमसी अस्पताल काठमाडौँ समेत लगिएको थियो । स्वास्थ्यमा सुधार नभएपछि उनलाई घर ल्याइएको थियो ।





