
बिर्तामोड, पुस ७ । नेपाली बजारमा फुड सप्लिमेन्ट र स्किन केयर तथा ब्युटी प्रोडक्टले उपभोक्तालाई झुक्याउँदै आएको पाइएको छ । पछिल्लो समय सामाजिक सञ्जालका इन्फ्लुएन्सरबाट विज्ञापन गर्न लगाएर यस्ता उत्पादनमा अत्यधिक मूल्य लिने गरेको पाइएको हो ।
सामाजिक सञ्जालमा सबैभन्दा बढी पछ्याइने (प्रभावकारी) अर्थात् इन्फ्लुएन्सरमार्फत् आफ्ना उत्पादनबारे विज्ञापन गरेर अत्यधिक मूल्यमा बिक्री भइरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उजुरी परेका छन् । जुन आजभोलि मात्रै नभएर हरेक वर्ष पर्दै आइरहेको विभागको अनुगमन टोलीका एक कर्मचारीले बताए ।
फुड सप्लिमेन्टका झोल, पाउडर, क्याप्सुललगायतका उत्पादनमा उपभोक्तालाई ठगिँदै आएको उनको भनाइ छ ।
‘भारतीय बजारमा १ हजारदेखि १ हजार २०० भारतीय रूपैयाँ पर्ने प्रोडक्टलाई ७ सयदेखि ८०० रूपैयाँको एमआरपी लगाएर बिक्री भइरहेका छन् । पटक–पटक अनुगमनमा गइन्छ । मूल्य हेर्ने बित्तिकै एमआरपी पनि वास्तविक हुँदैन’, उनले भने, ‘ठुलाठुला ब्रान्डका प्रोडक्टहरूको पनि वास्तविक मूल्यभन्दा सस्तोमा उल्टै उपभोक्तालाई हानि हुने तथा स्वास्थ्यमाथि प्रभाव हुने खालका बिक्री भइरहेका छन् ।’
शरीरमा भिटामिन, मिनरल र अन्य आवश्यक तत्त्व खानाबाट पूर्ति नभएको खण्डमा यस्ता फुड सप्लिमेन्ट लिने गरिन्छ । फुड सप्लिमेन्ट विशेषगरी भिटामिन जस्तै, भिटामिन ए, बि, सि, डि, इ तथा हर्मोन र प्रोटिनका प्रोडक्ट बिक्री हुँदै आइरहेका छन् । फुड सप्लिमेन्ट झोल, पाउडर, क्याप्सुललगायतका आकारमा बजारमा पाइन्छन् ।
नेपालमा छाला तथा कपालको हेरचाहजन्य मेडिकल सामग्रीका फुड सप्लिमेन्टको पनि बजार ठुलो छ । जसमा निकै ठुलो भिन्नता रहेको र सामाजिक सञ्जालमा विज्ञापन गराएर उपभोक्तालाई ठग्ने गरेको उजुरी परिरहेका छन् ।
विशेषगरी न्युरोकेयर, हेयर गेन मल्टिभिटामिनका क्यप्सुल, जेल, भिटामिन सि, एक्टिभ सावर जेल, बेबी डिएम मस्टुराइजिङ क्रिम, रिटिनल सिरम लगायतका थुप्रै ब्रान्डको बिगबिगी छ ।
फार्मेसी, औषधि पसल र खुला बजारमा समेत फुड सप्लिमेन्टका रूपमा प्रयोग हुने यी प्रोडक्ट पाइन्छन् । नेपालमै उत्पादन र आयात हुनेगरी करिब २५ सयको हाराहरीमा यस्ता प्रोडक्टका कम्पनी छन् ।
फुड सप्लिमेन्ट तथा स्किन केयरका प्रोडक्टको मनलाग्दी मूल्य र अनियन्त्रित बजार रहेको विभागका निर्देशक भरतप्रसाद आचार्य बताउँछन् । विभागले अनुगमन गरेपछि प्रमाणित हुने अथवा प्रमाणित गर्ने संयन्त्र नभएको उनको भनाइ छ ।





