
बिर्तामोड, पुस ७ । पूर्वी नेपालको पर्यटन प्रबर्द्धनमा टेवा पुर्याउने उद्देश्यले दर्ता भएको पर्यटन मञ्च झापा, नेपालले आज अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा विभिन्न क्षेत्रका पर्यटन विषयका व्यक्तिहरु सहभागी थिए ।
झापाको काँकरभिट्टामा सरोकारवालाहरुसँग मञ्चले संस्था गठन भएपछि पहिलोपटक अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रम गरेको हो । कोशी प्रदेश सरकारले २०८२ साललाई कोशी पर्यटन वर्षका रुपमा मनाइरहेका बेला झापामा मञ्च गठन भएको हो ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका निवर्तमान अध्यक्ष उदयकुमार श्रेष्ठको अध्यक्षता मञ्च गठन भएको हो ।
कार्यक्रममा अध्यक्ष श्रेष्ठले सबै क्षत्रका पर्यटन व्यवसायी र पर्यटनसँग सम्बन्धित व्यक्तिहरुलाई समेट्ने लक्ष्यका साथ मञ्च गठन भएको बताए । विशेष क्षेत्रका आआफ्ना संघसंगठन मात्र भएकाले मञ्च सबैको साझा थलोको रुपमा रहने उनले जानकारी दिए ।
कार्यक्रममा कोशी प्रदेशसभा सदस्य गोपाल तामाङ, पर्यटन कार्यालय झापाका प्रमुख छविलाल खतिवडा, अधिकृत निरोज कट्टेल, पर्यटन पत्रकार मञ्च झापाका सचिव हिमाल खरेललगायतले शुभकामना व्यक्त गरेका थिए ।
सीमापार पर्यटनको अवस्था, चुनौती र अवसरका विषयमा भएको अन्तरक्रिया कार्यक्रममा अध्यागमन कार्यालयका इन्द्रकुमार राजवंशी, कराते प्रशिक्षक राजु महर्जन, मेची उद्योग वाणिज्य संघका उपाध्यक्ष भूमि पौडेल, जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रका सचिव दिपक ओली, सुरेशगोपाल प्रधान, धर्मराज भण्डारीलगायतले आआफ्नो धारणा राखेका थिए ।
कार्यक्रमको सहजीकरण मञ्चका सचिव नविन खरेलले गरेका थिए भने पर्यटन अधिकृत कट्टेलले पर्यटनका सम्भावना र गर्न सकिने कामका बारे जानकारी गराएका थिए ।





