
बिर्तामोड, पुस ७ । झापाको कनकाई नगरपालिका क्षेत्रको शान्ति–सुरक्षा मजबुत बनाउन कनकाई नगरपालिकाले इलाका प्रहरी कार्यालय सुरुंगालाई एकथान गाडी हस्तान्तरण गरेको छ ।
जेनजी आन्दोलनका क्रममा प्रहरीको गाडी आगजनीमा परेपछि उत्पन्न भएको सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै नगरपालिकाले आफ्नै प्रयोगमा रहेको गाडी प्रहरीलाई उपलब्ध गराएको हो ।
नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले प्रयोग गर्दै आएको मे. १ झ १२२ नम्बरको सरकारी बोलेरो गाडी आज औपचारिक रूपमा इलाका प्रहरी कार्यालय सुरुंगालाई हस्तान्तरण गरिएको हो । गाडी हस्तान्तरण कार्यक्रममा शिवाकोटीको प्रत्यक्ष सहभागिता रहेको थियो ।
कार्यक्रममा नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले शान्ति–सुरक्षा नागरिकको पहिलो आवश्यकता भएको उल्लेख गर्दै स्थानीय सरकार प्रहरीसँग सधैँ सहकार्य गर्न तयार रहेको बताए ।
अघिल्लो कार्यकालमा पनि कनकाई नगरपालिकाले इलाका प्रहरी कार्यालय सुरुंगालाई एकथान गाडी उपलब्ध गराइसकेको छ । तर, जेनजी आन्दोलनका क्रममा उक्त गाडी आगजनीमा परेपछि प्रहरीले लामो समयसम्म मोटरसाइकलमार्फत गस्ती गर्नुपर्ने बाध्यता थियो ।
इलाका प्रहरी कार्यालय सुरुंगाका इन्चार्ज सुवास ढुङ्गानाले नगरपालिकाप्रति आभार व्यक्त गर्दै यस सहयोगले नागरिक सुरक्षामा थप प्रभावकारिता आउने बताए ।





