२०८२ पुष १० बिहीबार
Jhapa Today
Adv top

घटे वैदेशिक रोजगारीमा जाने नेपाली


बिर्तामोड, पुस १० । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको संख्या पछिल्ला महिना घट्दै गएको छ । गत भदौमा भएको जेनजी आन्दोलनपछि प्रमुख श्रम गन्तव्य देशहरूले कडाइ गरेसँगै वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या हरेक महिना घट्दो क्रममा छ ।

असोज, कात्तिकसँगै मंसिरमा पनि वैदेशिक रोजगारीमा जानेको संख्या घटेको हो । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार मंसिरमा ६५ हजार ७०५ नेपाली वैदेशिक रोजगारीमा गएका छन् । जुन कात्तिकको तुलनामा ७ हजार ३ सयले कम हो । कात्तिकमा ७३ हजार ९४ नेपालीले श्रम स्वीकृति लिएका थिए ।

मंसिरमा नयाँ श्रम स्वीकृति लिएर जानेको संख्या भने बढेको छ । मंसिरमा २९ हजार ६१८ जनाले नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकले देखाएको छ ।

कात्तिकमा भने २२ हजार ५ सय १५ जनाले नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । पुनः श्रम स्वीकृति लिनेको संख्या कात्तिकको तुलनामा मंसिरमा घटेको देखिन्छ । कात्तिकमा ५० हजार ५८० जनाले पुनः श्रम स्वीकृति लिएका थिए भने मंसिरमा ३६ हजार ८७ जनाले स्वीकृति लिएका थिए ।

जेनजी आन्दोलनपछि युनाइटेड अरब इमिरेट्स (युएई) जानेको चाप बढे पनि प्रहरी प्रतिवेदन प्रमाणीकरणमा झन्झटिलो प्रक्रिया र लागत बढेका कारण कामदार प्रभावित भएका छन् ।

पहिले कन्सुलर विभागमार्फत प्रहरी प्रतिवेदनका लागि ५ सय रुपैयाँ लिने गरिएको थियो । तर, अहिले प्रमाणीकरण शुल्क युएई दूतावासमार्फत गर्नुपर्ने व्यवस्था आएपछि करिब १४ हजार रुपैयाँसम्म पुगेको छ ।

मंसिरमा सबैभन्दा बढी साउदी अरब पुगेका छन् । साउदीमा ६ हजार ४४२ जना पुगेका छन् । त्यसपछि कतारमा ३ हजार ८६१, युएई २ हजार ३४२ र मलेसियामा ३ हजार ४४० जना गएका छन् ।

Adv footer