२०८२ पुष ११ शुक्रबार
Jhapa Today
Adv top

मानवसेवा आश्रम झापाले गरायो ३० जनाको पारिवारिक पुनर्मिलन


बिर्तामोड, पुस ११ । मानवसेवा आश्रम झापा शाखाले आर्थिक वर्ष २०८१/८२ को प्रगति प्रतिवेदनसहित आयव्यय विवरण सार्वजनिक गरेको छ । झापाको मेचीनगर–४ आमडाँडीमा सञ्चालनमा रहेको शाखाले औपचारिक कार्यक्रममार्फत आफ्नो वार्षिक प्रगति तथा आर्थिक विवरण सार्वजनिक गरेको हो ।

मानवसेवा आश्रमले २०८१ मंसिर २३ गते झापा शाखालाई औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो, जुन आश्रमको १७ औँ शाखा हो । कार्यक्रममा एक वर्षको अवधिमा आश्रमले गरेका गतिविधि, सेवा प्रवाह र आर्थिक अवस्थाबारे जानकारी गराइएको थियो ।

झापा शाखाले हालसम्म १२१ जना सहयोगापेक्षी व्यक्तिको उद्धार गरिसकेको छ । उद्धार गरिएकामध्ये सम्भव हुनेहरूको पारिवारिक पृष्ठभूमि पहिचान गरी ३० जनाको सफल पारिवारिक पुनर्मिलन गरिएको छ । हाल झापा शाखामा ७२ जना आश्रित संरक्षणमा रहेका छन् ।

सञ्चालनतर्फ ५४ लाख ६९ हजार ५५७ रुपैयाँ सेवा आम्दानी भएको छ भने ५४ लाख ८१ हजार ९१५ रुपैयाँ कुल खर्च भएको छ । त्यस्तै, पुँजीगततर्फ ३२ लाख ६६ हजार ३४८ रुपैयाँ आम्दानी भएको छ ।

शाखाको समग्र सम्पत्ति २ करोड २६ लाख ७१ हजार ११८ रुपैयाँ पुगेको छ । आश्रमको अक्षयकोषमा भने २ लाख ५२ हजार ८ सय ८० रुपैयाँ, नगद मौज्दात २१ हजार १८९ रुपैयाँ तथा बैंक मौज्दात ९ लाख २७ हजार ११३ रुपैयाँ रहेको जनाइएको छ ।

कार्यक्रममा कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्की, जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल, मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मिना पोखरेल उप्रेती, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौला, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईं, मेचीनगर–४ का वडा अध्यक्ष अर्जुन कार्की, पत्रकार चन्द्र भण्डारीलगायत अन्य स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, बुद्धिजीवी, समाजसेवी, आश्रमका अभिभावक तथा स्वयमसेवकहरूको उपस्थिति रहेको थियो ।

झापा शाखाको भवन निर्माणका लागि स्थानीय समाजसेवी रामबहादुर प्रधानले आफ्नो स्वामित्वमा रहेको २ बिघा ५ कट्ठा जग्गा मानवसेवा आश्रमलाई निःशुल्क रूपमा प्रदान गरेका हुन् ।

Adv footer