२०८२ पुष १२ शनिबार
Jhapa Today
Adv top

बिर्तामोडमा आज ब्यान्डसहित गुन्जिँदै प्रमोद खरेल


बिर्तामोड, पुस १२ । नेपाली आधुनिक संगीतका लोकप्रिय तथा व्यस्त गायक प्रमोद खरेल आज झापामा ब्यान्डसहित प्रस्तुति दिँदैछ । बिर्तामोडमा जारी पर्यटन तथा फुड फेस्टिबलमा प्रमोद आउने भएका हुन् ।

गायक खरेलले आफ्नै आधिकारिक ब्यान्डसहित लाइभ कन्सर्ट गर्न लागेका हुन् । आज राति ८ बजे उनले बिर्तामोड महोत्सवमा अहिलेका चर्चित गीत प्रस्तुत गर्नेछन् ।

नेपाली सुगम संगीतमा फरक स्थान बनाएका गायक खरेलले यसअघि भारतको आसाममा भएको ‘डेइजिङ फेस्टिभल’ र अस्ट्रेलियाका विभिन्न सहरमा ब्यान्डसहित टुर गरिसकेका छन् ।

बिर्तामोडमा उनले ब्यान्डको म्युजिकसँगै पुराना तथा नयाँ गीतहरु गाउँदैछन् । प्रमोदले आफ्ना हिट गीतहरुलाई आज हुने कन्सर्टमा प्रस्तुत गर्नेछन् ।

त्योसँगै पुराना लोक तथा नेपाली संस्कृति झल्कने गीतलाई पनि उनले प्राथमिकता दिने छन् । उनका पछिल्ला गीतहरु युट्युबमा ट्रेन्डिङमा पर्दै आएका छन् । कन्सर्टमा समेत प्रमोद नेपाल र विदेशमा अत्यधिक रुचाइएका गायक हुन् ।

ब्यान्डको प्रमुख गायकमा प्रमोद, लिड गिटारिस्टमा देवाशिष तामाङ, बेस गिटारिस्टमा कुशल थापा, बाँसुरीमा सञ्जीव मैनाली, ड्रममा भूपेन्द्र रसाइली, मादलमा जेपी जोशी, किबोर्डमा राहुल भुजेल छन् ।

२०५६ सालमा निर्दोषी मायालु गीतबाट नेपाली सुगम संगीतमा प्रवेश गरेका प्रमोद झापा बनियानीमा स्थायी बासिन्दा हुन् । पहिलो एकल एल्बम प्राप्ति ले नै चर्चामा आएका खरेलले कहिल्यै पछाडि फर्किनु परेन । खरेलका हालसम्म चार हजार गीत तथा गजल रेकर्ड भएर बजारमा आएका छन् ।

Adv footer