२०८२ पुष १५ मंगलबार
Jhapa Today
Adv top

झापाका विद्यालयलाई फिफाको फुटबल हस्तान्तरण


बिर्तामोड पुस १४ । नेपालमा ग्रासरुटस्तरको फुटबल खेललाई बढावा दिँदै सक्षम जनशक्ति उत्पादन गर्ने उद्देश्यले फुटबलको सर्वोच्च संस्था फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई नेपालभरि वितरणका लागि उपलब्ध गराएको फुटबल झापामा वितरण गरिएको छ ।

आज भद्रपुरस्थित मेची रंगशाला परिसरमा आयोजित बृहत समारोहमा झापाका दुई दर्जन विद्यालयलाई फिफाले उपलब्ध गराएको एडिडासको फुटबल वितरण गरिएको हो । एन्फाले जारी गरेको सूचनाअनुसार आवेदन दिएका र छनोटमा परेका विद्यालयलाई आवश्यक संख्यामा फुटबल वितरण गरिएको हो ।

झापा जिल्ला फुटबल संघका अध्यक्ष एवम् फुटबलका प्रशिक्षक भगिरथ आले मामाको अध्यक्षतामा आयोजित समारोहका बीच समारोहका प्रमुख अतिथि एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङले सम्बन्धित विद्यालयका प्रतिनिधिलाई फुटबल हस्तान्तरण गरेका थिए ।

झापा जिल्ला फुटबल संघका सदस्य गोपाल पोखरेलले सञ्चालन र उपाध्यक्ष मनिष दाहालले स्वागत गरेको समारोहमा विशिष्ट अतिथि दक्षिण एसियाली फुटबल महासंघका महासचिव पुरुषोत्तम कट्टेल, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’, एन्फा उपाध्यक्ष दावा लामा, दिपक खतिवडा, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै एन्फाको पहलकदमी र फिफाको सहयोगको प्रशंसा गरेका थिए ।

उनीहरुले फिफाको यो सहयोगले नेपालको ग्रासरुट फुटबललाई महत्वपूर्ण सघाउ पुग्ने विश्वास व्यक्त गर्दै यो कार्यक्रम नेपालमा ल्याउन एन्फा र सो संस्थाका अध्यक्ष नेम्वाङले गरेको पहलप्रति मुक्तकण्ठले प्रशंसा गरे ।

कार्यक्रमका अध्यक्ष आलेले फिफाको कार्यक्रमबारे प्रकाश पार्दै यो एउटा उत्कृष्ट अवसर प्राप्त भएको र यसलाई उपलब्धिमूलक बनाउनुपर्नेमा जोड दिए ।

फिफाले यस वर्ष विश्वका केही मुलुकमा फिफा फुटबल फर स्कुल कार्यक्रम सञ्चालन गरेको र सोही कार्यक्रमअन्तर्गत फुटबल वितरण भइरहेको आलेले जानकारी दिए ।

Adv footer