
बिर्तामोड पुस १५ । भारी वर्षाका कारण गत असोजको १८ र १९ गते क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपैयाँ स्रोत सहमति दिएको छ ।
क्षतिग्रस्त सडक तथा पुल मर्मत तथा पुनर्निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पेस गरेका कार्यक्रममा अर्थ मन्त्रालयले स्रोत सहमति प्रदान गरेको हो ।
क्षति भएका मेची राजमार्ग, माइखोला पुल राजदुवाली, माइखोला पुल बेलवासे, पुवाखोला पुल, जोगमाईखोला पुल, मेची करिडोरको मर्मत तथा पुनर्निर्माणमा उक्त रकम खर्च गरिने छ ।
मन्त्रालयले चालु आर्थिक वर्षका लागि तत्काल आवश्यक पर्ने ५४ करोड रुपैयाँ निकासा दिएको छ । स्रोत सहमति प्राप्त भएकाले अव सडक तथा पुल पुनर्निर्माणका लागि खरिद (टेण्डर) प्रक्रिया अगाडि बढाउन बाटो खुलेको छ ।
सबैभन्दा बढी रकम मेची राजमार्गको पुनर्निर्माणका लागि १ अर्ब ५० करोड रुपैयाँ स्रोत सहमति प्रदान गरिएको छ ।
मेची राजमार्गअन्तर्गतकै माईखोला मोटरेवल स्थायी पुल राजदुवालीका लागि २० करोड, मेची करिडोरको माइखोलामा मोटरेवल स्थायी पुल बेलासेका लागि २५ करोड, पुवाखोला र जोगमाईखोला पुलमा बेली ब्रिज निर्माण गर्न ५/५ करोड र मेची राजमार्गको वैकल्पिक सडकको रूपमा रहेको मेची कोरिडोरका लागि १४ करोड रुपैयाँको स्रोत सुनिश्चितता प्रदान गरिएको छ ।
यसमध्ये, मेची राजमार्गका लागि २५ करोड, माईखोला राजदुवाली तथा माईखोला पुल बेलासेका लागि क्रमशः ५ तथा १० करोड र मेची कोरिडोरका लागि ४ करोड रुपैयाँ चालु आर्थिक वर्षमा तत्काल आवश्यक रकम निकासा दिइएको छ । दुईवटा बेलीब्रिजका लागि आवश्यक सम्पूर्ण रकम निकासा दिइएको छ ।
३९ जनाको मृत्यु र ठुलो भौतिक संरचनामा क्षति पुग्नेगरी मनसुनजन्य विपद् घटना भएपछि सरकारले असोज २३ गते इलामलाई ३ महिनाका लागि ‘विपद् संकटग्रस्त’ घोषणा गरेको थियो ।



