बिर्तामोड पुस १८ । झापा जिल्ला सहकारी संघले संस्थालाई गतिशील बनाउन सातवटा नीति तथा कार्यविधिहरु संशोधन गर्ने तथा २६ वटा नयाँ निर्माण गर्ने कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
आर्थिक वर्ष २०८१/०८२ को समीक्षा गर्न आज बिर्तामोडमा आयोजित २९ औँ वार्षिक साधारणसभामा अध्यक्ष प्रेमकुमार कोइरालाले यस्तो प्रस्ताव पेस गरेका थिए ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरीको प्रमुख आतिथ्यमा आयोजित वार्षिक साधारणसभामा सञ्चालक समितिको तर्फबाट तयार पारिएको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष कोइरालाले संघको विनियम २०५० लाई संशोधनसहित पुनर्लेखन गर्ने, आन्तरिक नीति तथा कार्यविधिहरु आवश्यकता अनुसार संशोधन गर्ने तथा थप आवश्यक नीति तथा कार्यविधिहरु बनाउने बताए ।
उनले सहकारी क्षेत्रमा देखापरेका समस्याहरुलाई समाधान गर्न र सहकारी संस्थाहरुको सुरक्षाका लागि संघले पूर्णरुपमा अभिभावकत्व ग्रहण गर्ने पनि जनाए । जिल्ला संघले अबदेखि आफ्नो वित्तीय कारोबारहरुको विवरण प्रारम्भिक सहकारी संस्थाहरुले जस्तै मासिक रुपमा सार्वजनिक गर्ने पनि जनाएको छ ।
संघमा आवद्ध ४९३ वटा सहकारी संस्था यसका सेयरधनी रहेका छन् भने सेयर पुँजी ४ करोड १२ लाख ५१ हजार २०० रूपैयाँ, निक्षेप बचत २१ करोड २२ लाख ३१ हजार ९६४ रूपैयाँ, र कोष हिसाब ८ करोड १८ लाख ३७ हजार २५६ रूपैयाँ पुर्याइएको उल्लेख छ ।
संघले आफ्ना ३२ वटा सदस्य संस्थाहरुलाई १७ करोड ५६ लाख ८४ हजार ५८० रूपैयाँ ऋण लगानी गरेको छ भने असार मसान्तमा २३ लाख २९ हजार ६०६ रूपैयाँ सञ्चालन नाफा गरेको प्रतिवेदनमा उल्लेख छ ।
संघबाट ऋण लिएर नतिर्ने ६ वटा सहकारी संस्थाहरु विरुद्धमा झापा जिल्ला अदालतमा मुद्दा दायर गरिएकोमा मुद्दा संघको पक्षमा फैसला हुँदा दुईवटा संस्थाले चुक्ता गरेको र चारवटाले आंशिक रुपमा कार्यान्वयन गर्दै रहेको प्रतिवेदनमा जनाइएको छ ।
संघका सचिव भवानीप्रसाद दंगालले सञ्चालन गरेको साधारणसभा समारोहमा आमन्त्रित सहकारीकर्मीहरुलाई संघका वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद सापकोटाले शाब्दिक स्वागत गरेका थिए ।
सभाको उद्घाटनसत्रमा प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष तथा सहारा नेपाल साकोस लि।का कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, राष्ट्रिय सहकारी बैंक लिमिटेड, लेखा सुपरीवेक्षण समितिका संयोजक तथा नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती र नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका उपाध्यक्ष मिनाकुमारी ढकालले नेपालको सहकारी अभियानका विभिन्न विषयमा आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा संघका पूर्वअध्यक्ष हरिचरण बानियाँले जिल्ला संघको नाममा चारपानेमा किनिएको जमिन लावारिस रहेकोप्रति सञ्चालकहरुको ध्यानाकर्षण गराए । सहकारी प्रशिक्षण केन्द्र बनाउने गरी आफू अध्यक्ष रहेको समयमा किनिएको उक्त जमिन यतिबेला जंगल बनेको गुनासो गर्दै उनले यो अवधिमा किन केही गरिएन भनेर संघका निवर्तमान सञ्चालकहरुसँग जिज्ञासा पनि राखेका थिए ।



