बिर्तामोड पुस २२ । झापाको बुद्धशान्तिमा एउटा वयस्क भाले हात्ती मरेको अवस्थामा भेटिएको छ । हात्ती जंगलमा नभई स्थानीय कृषकको खेतमा मृत भेटिएको हो ।

इलाका प्रहरी कार्यालय बुधबारेका प्रहरी नायव निरीक्षक चन्द्र राउतका अनुसार सो धाले हात्तीको दाह्रा छैन । दाह्रा नभएको सो हात्ती मागुरमाडी, कालिका र बाँसबारी वन क्षेत्रमा रहँदै आएको बताइएको छ ।
आज बिहान कालिका सिमसार जाने बाटोमा बुद्धशान्ति ३ डाँडागाउँका लालबहादुर रसाइलीको खेतमा हात्ती मृत फेला परेको राउतले जानकारी दिए ।
बस्तीको छेउमा हात्ती मृत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । हात्ती मरेकोबारे जिल्ला वन कार्यालय झापालाई पनि खबर गरिएको प्रहरीले जनाएको छ ।



