२०८२ पुष २३ बुधबार
Jhapa Today
Adv top

झापा इनर्जीद्वारा पाँच महिनामा ४ करोड ७१ लाख बराबरको विद्युत् उत्पादन


बिर्तामोड पुस २२ । सौर्य ऊर्जा उत्पादक कम्पनी झापा इनर्जी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपाल विद्युत् प्राधिकरणलाई करिब ४ करोड ७१ लाख रुपैयाँ बराबरको विद्युत् बिक्री गरेको छ ।

कम्पनीले साउनदेखि मंसिर मसान्तसम्मको अवधिमा ६५ लाख २१ हजार २६० युनिट विद्युत् उत्पादन गरी ४ करोड ७० लाख ९३ हजार ४९७ रुपैयाँ आम्दानी गरेको जनाएको छ ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष लालबहादुर साँवा लिम्बूका अनुसार शिवसताक्षी नगरपालिका वडा नम्बर ४ बुलुचोकमा रहेको १० मेगावाट क्षमताको सौर्य विद्युत् परियोजनाबाट विद्युत् उत्पादन भइरहेको छ । झापा इनर्जीले उत्पादन गरेको विद्युत् नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट ७ रुपैयाँ ३० पैसाका दरले खरिद गर्दै आएको छ ।

झापा इनर्जीले २०७८ साल मंसिर १२ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) गरेको थियो भने २०८० साल माघ १० गतेदेखि विद्युतको व्यावसायिक उत्पादन सुरु गरेको हो । परियोजना निर्माणका लागि बुलुचोक क्षेत्रमा २२ बिघा जग्गा खरिद गरिएको छ ।

परियोजनास्थलमा २१ हजार ६०० वटा सौर्य प्यानल जडान गरिएका छन् । उत्पादन भएको सौर्य विद्युत् एक किलोमिटर दूरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको बुलुचोक सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । यसले विद्युत् प्रसारणमा न्यून क्षति र स्थिर आपूर्ति सुनिश्चित गर्न सहयोग पुगेको कम्पनीको भनाइ छ ।

आर्थिक वर्ष २०८०/८१ मा झापा इनर्जीले ५ करोड २८ लाख ८४ हजार ७७७ रुपैयाँ बराबरको सौर्य विद्युत् बिक्री गरेको थियो । त्यसपछिको आर्थिक वर्ष २०८१/८२ मा विद्युत् बिक्रीबाट प्राप्त आम्दानी बढेर ९ करोड १० लाख ५९ हजार ४७५ रुपैयाँ पुगेको अध्यक्ष लिम्बूले जानकारी दिए ।

सौर्य ऊर्जामा आधारित यो परियोजनाले हरित ऊर्जा प्रवद्र्धनका साथै स्थानीय रोजगारी सिर्जना र ऊर्जा आत्मनिर्भरतामा योगदान पु¥याउँदै आएको छ ।

Adv footer