
बिर्तामोड पुस २२ । झापाको बिर्तामोडमा एकजना कारोबारी ठुलो परिमाणमा लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् । उनलाई आफ्नै घरबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा बिर्तामोड-१ सूर्यनगर टोल काली मन्दिरका ४० वर्षीय अजय राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई आज दिउँसो १ः३० पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार राजवंशीको घरमा लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोड र लागुऔषध ब्युरो काँकरभिट्टाको टोलीले उनलाई पक्राउ गरेको हो ।
राजवंशीको साथबाट र घरभित्र लुकाएर राखेको १२३ ग्राम १८० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।
त्यस्तै, नेपाली नोट २ लाख ६७ हजार रुपैयाँ, भारतीय नोट २९ हजार ५०० रुपैयाँ, डिजिटल तराजु थान–१, कैँची थान–१, चक्कु थान–१, मोबाइल थान–२ समेत फेला परेको थियो ।
बिर्तामोडमा अहिलेसम्मकै ठुलो परिमाणमा ब्राउनसुगर फेला परेको जनाइएको छ । राजवंशीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।



