
बिर्तामोड पुस २३ । पटकपटक क्षतिग्रस्त हुँदै आएको झापाको शनिश्चरे खुदुनाबारी जोड्ने बिरिङ पुल पुनर्निर्माण गर्न ३५ करोड रुपैयाँ बजेट स्वीकृत भएको छ ।
दुई वर्षअघि भाच्चिएर दुई भागमा विभाजित भएपछि अर्जुनधारा नगरपालिकामा पर्ने बिरिङ पुलबाट आवतजावत बन्द छ । हिउँदमा भने खोलामा ह्युपपाइप लगाएर यातायात सञ्चालनमा छ ।
अर्जुनधारा वडा नम्बर ७ लाई वडा नम्बर ४ र १ सँग जोड्ने शनिश्चरे–खुदुनाबारी सडकको बिरिङ खोलामा भाच्चिएको पुल पुनर्निर्माणका लागि लामो प्रतीक्षा र अथक प्रयासपछि बजेट स्वीकृत भएको हो ।
पुल निर्माणको ठेक्का प्रक्रिया तत्काल अगाडि बढाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
सभामुख देवराज घिमिरे सुरूवातदेखि नै अत्यन्त चासोका साथ लागेर यो विषयलाई टुङ्गोमा पु¥याउन सफल बनेको उनका स्वकीय सचिव केशवराज ढुंगेलले बताएका छन् ।



