
बिर्तामोड पुस २३ । सरकारले बनाएको कानुनी व्यवस्थाविपरीत झापाका आधा दर्जन चिम्नी इँटा उद्योगले इँटा पोल्न सुरु गरेका छन् । सरकारी नियमअनुसार माघ १ गतेदेखि मात्र इँटाभट्टा सञ्चालन गर्न पाइन्छ ।
झापाका २८ वटा इँटा उद्योगमध्ये सरकारी नियमको ठाडो उल्लघंन गर्दै भद्रपुर–१ पृथ्वीनगरस्थित दक्षिणकाली इँटा उद्योग झापा (डिबिआई इँटा) ले पुस १९ गतेका दिन इँटा पोल्न सुरु गरेको हो ।
त्यस्तै, त्यही दिन राति कचनकवल–७ स्थित प्रेमजी इँटा उद्योग (प्रेम इँटा) ले इँटा पोल्न सुरु गर्यो । त्यसपछि पुस २१ गते भद्रपुर–१ स्थित गणेश इँटा उद्योग (नायक इँटा), पुस २२ गतेदेखि मेचीनगरस्थित बुद्ध इँटा उद्योग (बिबिसी) र कचनकवल–७ स्थित ज्योति इँटा उद्योग (ज्योति इँटा) ले इँटा पोल्न थालेका छन् ।
यी इँटा उद्योगहरूले इँटा पोल्न सुरु गरे पनि नियमन गर्ने स्थानीय तह र जिल्ल प्रशासन कार्यालय झापा भने बेखबर रहेका छन् । सरकारको निर्णयविपरीत इँटा पोल्ने उद्योगहरूमा पुगेर स्थानीय सरकारलाई आफ्नो दमकल प्रयोग गरे आगो निभाउने समेत अधिकार दिइएको छ ।
औद्योगिक व्यवसाय ऐन २०७६ को दफा २० को उपदफा १० अनुसार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको अध्यक्षतामा बसेको औद्योगिक तथा लगानी प्रवद्र्धन बोर्डको २४३ औँ बैठकले माघ १ गतेदेखि मात्र इँटाभट्टा सञ्चालन गर्न भनेको छ ।
बैटकले इँट्टा उद्योग सम्बन्धमा गरेको निर्णयअनुसार उद्योगबाट हुने प्रदूषण न्यूनीकरण गर्न एवम् कामदारको स्वास्थ्यलाई समेत ध्यान दिइ इँटा पोल्ने कार्यबारे सो निर्णय गरेको हो ।
सो विषयमा घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरले गत कात्तिक १४ गते झापामा सम्पूर्ण इँटा उद्योगलाई पत्राचार गर्दै निर्णय कार्यान्वयन गर्न आग्रह गरेको थियो ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको निर्णय कार्यान्वयन गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि देशभरका स्थानीय तहहरूलाई २०८१ मंसिर १९ गते पत्राचार गरेको समेत पाइएको छ ।
झापा इँटा उद्योग संघका सचिव विष्णु घिमिरेले सरकारले गरेको निर्णय सबैले पालना गर्नुपर्ने बताए ।



