
बिर्तामोड पुस २३ । सरकारले ओमान र इजरायलसँग श्रम सम्झौता गर्ने प्रक्रियालाई अन्तिम रूप दिने निर्णय गरेको छ । ओमानसँग नयाँ श्रम समझदारी गर्ने र इजरायलसँगको विद्यमान श्रम सम्झौतालाई नवीकरण गर्ने प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ ।
मन्त्रिपरिषद्ले इजरायल र ओमानसँग श्रम सम्झौता गर्न स्वीकृति नदिँदा लामो समय प्रक्रिया रोकिएको थियो । अघिल्लो सरकार हुँदा नै प्रक्रिया अघि बढाउने गरी तयारी थाले पनि जेनजी आन्दोलनका कारण प्रक्रिया ढिलो भएको थियो ।
ओमानमा हाल २५ हजार हाराहारी नेपाली श्रमिक रहेको ओमानस्थित नेपाली दूतावासले जनाएको छ । ओमानमा विशेषगरी घरेलु श्रमिकका रूपमा नेपाली महिला जाने गरेका छन् ।
त्यस्तै, साउदी अरेबियासँगको श्रम सम्झौताका लागि पनि जनवरी २५–२६ तिर गर्नेगरी अनौपचारिक कुराकानी भइरहेको छ । इजरायलसँग यसअघि भएको सम्झौताको म्याद सकिएको र नवीकरणको प्रावधान नभएकाले यसपटक नयाँ सम्झौता गर्न लागिएको हो ।
इजरायलसँग मुख्यतया दुईवटा विधामा सम्झौता हुनेछ । जसमा होम बेस्ड केयरगिभर र लङ टर्म केयरगिभरमा सम्झौता गर्ने तयारी छ । यी दुई विधामा सम्झौता गर्दा इजरायल जाने नेपाली श्रमिकहरूको हक, हित, सुरक्षा, र बिमाको सुनिश्चितता गर्नेछ ।
त्यस्तै, कार्यस्थलको सुरक्षा र कुनै दुर्घटना भइहालेमा उद्धार तथा फिर्ता जस्ता विषयलाई सम्झौताले समेट्नेछ । हाल इजरायलमा कृषि क्षेत्रमा ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत पनि नेपालीहरू गइरहेको मन्त्रालयले जनाएको छ ।
विशेषगरी ओमानमा घरेलु श्रमिकका रूपमा ठुलो संख्यामा नेपाली महिलाहरू अवैध बाटो वा भिजिट भिसा प्रयोग गरी पुग्ने गरेका छन् । सरकारले घरेलु श्रमिक पठाउन प्रतिबन्ध लगाए पनि लुकीछिपी जाने क्रम रोकिएको छैन ।
इजरायलसँगको यो सम्झौताले केवल केयरगिभर मात्र नभई कृषि, निर्माण, होटल तथा रेस्टुरेन्ट क्षेत्रमा समेत नेपाली श्रमिक पठाउने ढोका खोल्ने विश्वास गरिएको छ ।
इजरायलले लर्न एन्ड अर्न कार्यक्रममार्फत नेपाली विद्यार्थी र कृषि क्षेत्रका कामदारको ठुलो माग गर्दै आएको छ ।
इजरायलले हाल २ हजारदेखि २ हजार ५ सयसम्म थप नेपाली श्रमिक तत्कालै लैजान सकिने बताउँदै आएको छ । यसअघि २०७८ सालमा १ हजार ६ सय केयरगिभर पठाइएको थियो ।



