२०८२ पुष २४ बिहीबार
Jhapa Today
Adv top

मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात बढ्यो


बिर्तामोड पुस २३ । नेपालमा उत्पादित छुर्पीको निर्यात ३२ प्रतिशतले वृद्धि भएको मेची भन्सार कार्यालयले जनाएको छ । नेपाली छुर्पी निर्यात हुने मुख्य नाका नै काँकरभिट्टा हो ।

चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा पूर्वीनाका काँकरभिट्टा हुँदै ४८ करोड ५२ लाख ७३ हजार मूल्यबराबरको दुई लाख ७५ हजार २४६ केजी छुर्पी निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए ।

गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा ३२ प्रतिशतले निर्यात बढेको हो । गत आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा ३६ करोड ७६ लाख २३ हजार मूल्यबराबरको दुई लाख १७ हजार ६८ केजी छुर्पी निर्यात भएको उनले बताए ।

गत आर्थिक वष्र्षको तुलनामा चालु आर्थिक वर्षमा छुर्पीको निर्यात ११ करोड ७६ लाख ५० हजारले बढेको जनाइएको छ । मेची भन्सारबाट निर्यात हुने प्रमुख १० मालवस्तुको सूचीमा छुर्पी चौथो स्थानमा छ ।

पहाडी तथा हिमाली जिल्लामा दुग्धजन्य वस्तुबाट छुर्पी उत्पादन हुन्छ । निर्यात भएर अधिकांश छुर्पी युरोप र अमेरिका पुग्ने गरेको छ । ती मुलुकमा यसलाई कुकुर र बिरालोको खानाका रूपमा प्रयोग गर्छन् ।

नेपाल छुर्पी व्यवसायी संघका महासचिव ऋषि तिम्सिनाले नेपालमा उत्पादन हुने छुर्पीको ८० प्रतिशत हिस्सा कोशी प्रदेशले ओगटेको बताए । नेपालबाट निर्यात हुने प्रमुख उत्पादन छुर्पीको उत्पादन र व्यवसाय प्रवर्द्धनका लागि सरकारले ध्यान दिन नसकेको महासचिव तिम्सिनाले गुनासो गरे ।

Adv footer