बिर्तामोड, पुस २४ । बिर्तामोडस्थित विराट–अर्जुन उपभोक्ता सहकारी संस्थाले ‘पठन संस्कृति वर्ष २०२६’ अभियानलाई सफल बनाउने उद्देश्यसहित संस्थाको कार्यालयमा मिनी लाइब्रेरी स्थापना गरेको छ ।

संस्थाका कर्मचारी तथा शेयर सदस्यहरुका लागि मिनी लाइब्रेरी प्रभावकारी हुने बताउँदै संस्थाका अध्यक्ष नविन खरेलले झापामा पहिलोपटक सहकारीलाई यस अभियानसँग जोड्न पाएकोमा खुसी व्यक्त गरे ।
मिनी लाइब्रेरीको उद्घाटन गर्दै वीरता रिडर्सका संयोजक तथा लेखक तीर्थ सिग्देलले पढाइले चेतनाको विकाससँगै कार्यक्षमता र सोचको दायरालाई फराकिलो बनाउने बताए ।
वीरता रिडर्सका सहसंयोजक तथा इशा बुक्स सेन्टर बिर्तामोडका सञ्चालक केशव मैनालीले यो अभियानमा जोडिन सबैमा आग्रह गरे ।
कार्यक्रममा विराट–अर्जुन सहकारीका सञ्चालक सदस्य राजेश दाहालले पढ्नुपर्छ भन्ने बुझाइ हराउँदै गएको बेला पठन संस्कृति अभियानले पढ्नुपर्छ भन्ने चेत खोलिदिएकोमा धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा पत्रकार मोहन काजी, संस्थाका कोषाध्यक्ष कृष्णप्रसाद कुइँकेल, सदस्य ईश्वरीप्रसाद काफ्ले, शारदा सिटौला, व्यवस्थापक सुनिता दङ्गाल लगायत कर्मचारी तथा शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।


