२०८२ पुष २५ शुक्रबार
Jhapa Today
Adv top

भद्रपुरमा कोशी पाथिभरा इन्डो-नेपाल क्रिकेट हुने


बिर्तामोड, पुस २५ । झापाको भद्रपुरमा कोशी पाथिभरा इन्डो-नेपाल टि २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रतियोगिता मेची क्रिकेट ग्राउन्डमा हुनेछ ।

आयोजक भद्रपुर क्रिकेट क्लबले आज भद्रपुरमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगिता यही माघ २१ गतेदेखि २८ गतेसम्म हुनेछ ।

क्लबका अध्यक्ष आदित्य पराजुलीका अनुसार प्रतियोगितामा भारतका चार र नेपालका चारवटा टिमको सहभागिता रहनेछ । भारतका राइनोल्यान्ड क्रिकेट एकेडेमी गुवाहाटी, ग्लोबल स्टार क्रिकेट क्लब लखनाऊ, क्रिकेट कोचिङ उपाध्याय एकेडेमी न्यु दिल्ली र स्नो लायन टिम सिक्किमले प्रतियोगितामा सहभागिता जनाउने छन् ।

त्यस्तै, नेपालका आयोजक भद्रपुर क्रिकेट क्लब, विराटनगर किंग्स डेभलपमेन्ट स्क्वाड, पोखरा एभेन्जर्स गण्डकी हिरोज डेभलपमेन्ट स्क्वाड र काठमाडौँ गोर्खाज डेभलपमेन्ट स्क्वाडले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने क्लबका उपाध्यक्ष तथा प्रतियोगिताका संयोजक मनोज सुब्बाले बताए ।

प्रतियोगितामा आठवटा टिमलाई दुई समूहमा विभाजन गरेर लिग ढाँचामा प्रतिस्पर्धा गराइनेछ । केही दिनमै प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिने क्लबका महासचिव वसन्त पोखरेलले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँ, मेडल र ट्रफी पाउनेछ भने उपविजेताले नगद तीन लाख रुपैयाँ, मेडल र ट्रफी प्राप्त गर्नेछ ।

त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ र ट्रफी पाउनेछ । प्रतियोगिताको उत्कृष्ट बलर र ब्याटरले नगद २५ हजार रुपैयाँ र ट्रफी पाउने क्लबका सचिव केदार महतले बताए ।

उदयीमान खेलाडीलाई नगद ११ हजार रुपैयाँ र ट्रफी पाउँदा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार रुपैयाँ र ट्रफी पाउनेछ । प्रतियोगिता सम्पन्न एक करोड २२ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ ।

कोशी प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताका बेला भारतीय तथा नेपाली खेलाडी तथा अफिसियहरुलाई पर्यटकीय क्षेत्रको भ्रमण पनि गराइनेछ ।

पत्रकार सम्मेलनमा झापा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रविन थापा, भद्रपुर नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, उद्योगी टिकाराज ढकाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

Adv footer