२०८२ पुष २६ शनिबार
Jhapa Today
Adv top

भद्रपुरका दुई युवा बिर्तामोडमा लागुऔषधसहित पक्राउ


बिर्तामोड, पुस २६ । झापाको बिर्तामोडबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुईजना युवालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा भद्रपुर–१ पाण्डेचोक बस्ने २५ वर्षीय निरोज लिम्बु र भद्रपुर–२ पृथ्वीनगर बस्ने २६ वर्षीय सागर प्रधान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनीहरुलाई बिर्तामोड नगरपालिका–४ मुनाल टोलबाट इलाका प्रहरी कार्यालय अनारमनी तथा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाले शुक्रबार साँझ ७ः४० बजे पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक प्रविण श्रेष्ठ तथा प्रहरी हबल्दार पञ्चनारायण मेहताको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाका आधारमा जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरूका साथबाट ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ प्लास्टिकसहित ४६ ग्राम र प्लास्टिक बाहेक ४१ ग्राम ५८० मिलिग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरू प्रयोग गर्दै आएको प्रदेश १–०१–०१५ प ३४२७ नम्बरको स्कुटर, दुईथान स्क्रिन टच मोबाइल र एकथान किप्याड मोबाइलसमेत बरामद गरिएको छ ।

पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।

Adv footer