बिर्तामोड, पुस २६ । आगामी बैशाखदेखि ‘नागरिक सामुदायिक अस्पताल’ सञ्चालनको तयारीमा रहेको नागरिक स्वास्थ्य सहकारी संस्थाले पाँचौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
आम सर्वसाधारण नागरिकलाई लक्षित गरी सर्वसुलभ मूल्यमा स्वास्थ्य सेवा दिने उद्देश्यले अस्पताल सञ्चालनमा आउन लागेको हो । अस्पताल झापाको बिर्तामोड–४ हर्कलाल रोडमा सञ्चालन गरिनेछ ।

नागरिक स्वास्थ्य सहकारी संस्था लिमिटेडको मातहतमा सञ्चालन हुने नागरिक अस्पतालले सुलभ दररेटमा स्वास्थ्य उपचार प्रदान गर्ने तयारी गरेको संस्थाका कार्यकारी प्रमुख कृष्ण पौडेलले बताए ।
संस्थाको निर्माणाधीन भवनमा भएको वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा अस्पताल सञ्चालनको तयारी तीव्र बनाइएको जनाइएको छ ।
अस्पताल सञ्चालनको लागि ११ कठ्ठा जग्गा २५ वर्षको लागि भाडामा लिएर अस्पताल भवनको निर्माण कार्य धमाधम भइरहेको छ । संस्थाका कोषाध्यक्ष जीवनकुमार खड्काका अनुसार भवनको निर्माण कार्य ९० प्रतिशत सम्पन्न भएको छ भने अहिलेसम्म अस्पतालमा ३०० भन्दा बढी शेयर सदस्य बनिसकेका छन् ।
उपचार केन्द्रको हब बन्दै गएको बिर्तामोडमा नयाँ अस्पताल थपिएसँगै आधुनिक उपकरण तथा सुविधा पनि थपिन थालेका छन् । बिरामीको आर्थिक अवस्थालाई ध्यान दिएर नागरिक अस्पतालले सुलभ दरमा उपचार सेवा दिनेछ ।
हर्कलाल मार्गको कञ्चनजंघा स्कुल उत्तरमा स्थानीय युवराज दाहाल र नवराज दाहालको आमाको नाममा रहेको जग्गा २५ बर्षका लागि लिजमा लिएर निर्माण शुरु गरिएको अस्पतालको पहिलो तलाको काम ९० प्रतिशत पूरा भएको अस्पतालका कार्यकारी प्रमुख कृष्ण पौडेलले जानकारी दिए ।
अस्पतालका लागि आवश्यक उपकरण खरिद र सेटअफ बाँकी रहेको उनले बताए । तीन तलाको रहने अस्पताल भवन ४ कठ्ठा क्षेत्रफलमा फैलिएको छ भने अन्य खाली जमिन समेत गरी अस्पतालले ११ कठ्ठा क्षेत्रफल प्रयोगमा ल्याउने छ । सो अस्पताललाई सय शैय्याको बनाउने लक्ष्य राखिएको छ ।
विशेषज्ञ डाक्टरको सुविधा तथा नेपाल सरकारबाट सञ्चालित बीमा सेवासमेत सञ्चालन गर्ने तयारी अस्पतालको रहेको कोषाध्यक्ष खड्काले जानकारी दिए । संस्थाका अध्यक्ष युवराज दाहालको अध्यक्षतामा भएको कार्यक्रममा मोरङ सहकारी अस्पतालका कार्यकारी प्रमुख विकास अधिकारीको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा स्वागत संस्थाका कोषाध्यक्ष खड्काले गरेका थिए । कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार राजकुमार पोखरेल, संस्थापक अध्यक्ष बलराम कार्की, स्वास्थ्य मन्त्रालयका पूर्वसचिव डा. टंक बाह्रकोटी, स्वास्थ्य मन्त्रालयका पूर्व उपसचिव डा. मुक्ति खनाललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव रविन्द्र भट्टराईले गरेका थिए ।


