२०८२ पुष २८ सोमबार
Jhapa Today
Adv top

इन्डो-नेपाल मेचीनगर मिडिया कपः आज सेमि र फाइनल


बिर्तामोड, पुस २८ । प्रेस क्लब मेचीनगरले आयोजना गरेको इन्डो नेपाल मेचीनगर मिडिया फुटबल कप २०८२ अन्तर्गत आज सेमिफाइनल र फाइनल प्रतिस्पर्धा हुँदैछ । पहिलो दिन चारवटा प्रेस क्लबको टोली सेमिफाइनलमा पुगेका छन् ।

काँकरभिट्टा खेल मैदान जारी प्रतियोगितामा नेपालका तीन र भारतको एक टिम अन्तिम चारमा पुगेका हुन् । प्रतियोगितामा प्रेस क्लब भद्रपुरले अर्जुनधारा प्रेस क्लबलाई ३-१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

दोस्रो खेल आयोजक मेचीनगर प्रेस क्लबले कनकाई सुरुङ्गा प्रेस क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्यो । तेस्रो खेल तराई प्रेस क्लब भारत र पत्रकार मञ्च दमकबीच सम्पन्न भएको थियो । दमक १-० गोल अन्तरले पराजित भयो ।

अन्तिम क्वार्टर फाइनल खेलमा टिम इन्डियालाई बुद्धशान्ति प्रेस क्लबले २-० गोल अन्तरले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो ।

आज सोमबार सोमिफाइनल र फाइनल खेल हुने आयोजक क्लबका अध्यक्ष प्रकाश पौडेलले बताए । पहिलो सेमिफाइनलमा भद्रपुर र मेचीनगर खेल्नेछन् । अन्तिम सेमिफाइनलमा तराई प्रेस क्लब भारत र बुद्धशान्तिले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल र भारतका पत्रकारबीच आपसी सम्बन्ध स्थापित गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपटक इन्डो–नेपाल मेचीनगर मिडिया कप–२०८२ आयोजना गरिएको आयोजक क्लवका सचिव प्रविण अधिकारीले बताए ।

मिडिया कपको विजेताले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले नगद २५ हजार, ट्रफी, मेडल, र प्रमाणपत्र पाउने प्रतियोगिता संयोजक खगेन्द्र घिमिरेले जानकारी दिए ।

Adv footer