२०८२ पुष २९ मंगलबार
Jhapa Today
Adv top

बिर्तामोडको नविल ओभरसिजमा प्रशासनको ताला


बिर्तामोड, पुस २९ । जिल्ला प्रशासन कार्यालय झापाले बिर्तामोडको एक म्यानपावर कम्पनीको शाखा कार्यालयमा ताला लगाएको छ ।

अनुगमनको क्रममा दर्ता नगरी बिर्तामोड–१ मा सञ्चालनमा रहेको ‘नविल ओभरसिज’ नामक म्यानपावर कम्पनीमा प्रशासनले ताला लगाएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंको नेतृत्वमा आएको जिल्ला प्रशासन कार्यालय झापाको अनुगमन टोलीले उक्त म्यानपावरमा छापा मार्दा दर्ताका कागजात, खातापाता र आवश्यक प्रमाणपत्र प्राप्त हुन नसकेको जनाएको छ ।

अनुगमनका क्रममा कम्पनी सञ्चालक सञ्जय योङहाङले वैदेशिक रोजगार ऐनअनुसार आवश्यक कागजात देखाउन नसकेपछि इलाका प्रहरी कार्यालय अनारमनीको सहयोगमा म्यानपावर कम्पनीमा ताला लगाइएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी प्रसाईंले वैदेशिक रोजगारीमा जान चाहने श्रमिकलाई आकर्षक प्रलोभन देखाएर ठगी गर्ने क्रम बढ्दै गएकाले प्रशासनले अनुगमनलाई तीव्र बनाएको बताए ।

यसअघि प्रशासनले बिर्तामोडमा सञ्चालनमा रहेको गोदावरी डायग्नोष्टिक सेन्टरमा चिकित्सकको उपस्थितिबिनै वैदेशिक रोजगार प्रयोजनका स्वास्थ्य परीक्षण रिपोर्ट वितरण हुँदै आएको पुष्टि भएपछि ताला लगाएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी प्रसाईंको नेतृत्वमा खटिएको टोलीले उजुरीका आधारमा गरेको अनुगमनका क्रममा सेन्टरमा कुनै चिकित्सक उपस्थित नभएको अवस्थामा ‘डा. डिके झा’ को नाम र हस्ताक्षर प्रयोग गरी रिपोर्ट वितरण भइरहेको गम्भीर लापरबाही फेला पारेको थियो ।

अनुगमनमा संलग्न अधिकारीहरूका अनुसार नेत्रप्रसाद उप्रेती र जीवन लिम्बूले सञ्चालन गर्दै आएको उक्त डायग्नोष्टिक सेन्टरले पाँच वर्षदेखि यही शैलीमा वैदेशिक रोजगारीका लागि स्वास्थ्य परीक्षण रिपोर्ट दिँदै आएको प्रारम्भिक तथ्य खुलेको छ ।

Adv footer