२०८२ पुष २९ मंगलबार
Jhapa Today
Adv top

झापाको राष्ट्रपति रनिङ शिल्ड फागुन पहिलो साता गौरादहमा


बिर्तामोड, पुस २९ । झापा जिल्लास्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता फागुन पहिलो साता हुने भएको छ । झापा जिल्ला खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गर्नेछ ।

प्रतियोगिता यही फागुन ४, ५ र ६ गते गौरादह–१ स्थित जनता माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना हुने भएको समितिका अध्यक्ष प्रशान्त भण्डारीले जानकारी दिए ।

झापा जिल्ला खेलकुद विकास समितिको आयोजना तथा गौरादह नगरपालिकाको संयोजनमा हुने प्रतियोगिताको तयारी, व्यवस्थापन र सहकार्यका विषयमा गौरादह नगरपालिका खेलकुद विकास समिति अध्यक्ष कुपेन्द्र निरौलाको अध्यक्षतामा बसेको बैठकले आवश्यक निर्णय गरेको हो ।

बैठकमा गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदी, शिक्षा शाखा प्रमुख बिदुर आचार्य, जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष भण्डारी, प्रवक्ता जगन कार्की, कराते प्रशिक्षक दुर्गाराज निरौला र कुस्ती प्रशिक्षक वेदनिधि भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

झापा जिल्ला खेलकुद विकास समितिका अनुसार जिल्लाका १५ वटै पालिकाबाट छनोट भएका खेलाडीहरूले मात्रै जिल्लास्तरीय प्रतिस्पर्धामा भाग लिन पाउनेछन् । यसका लागि सबै पालिकाले पालिकास्तरीय प्रतियोगिता सम्पन्न गरी माघ २८ गतेभित्र खेल सम्पन्न प्रतिवेदन र खेलाडी दर्ता फाराम समितिमा बुझाइसक्नुपर्नेछ ।

१८ वर्षमुनिका छात्र–छात्रा सहभागी हुने प्रतियोगितामा करिब १५ सय विद्यार्थी खेलाडीको सहभागिता हुनेछ । प्रतियोगितामा कराते, तेक्वान्दो, कबड्डी, उसु, भलिबल र एथलेटिक्स खेल विधा समावेश छन् ।

प्रतियोगितामा छात्र र छात्रा दुवैले सहभागिता जनाउनेछन् । अन्तरविद्यालय छनोटबाट उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीहरूले मात्र जिल्लास्तरीय प्रतिस्पर्धामा स्थान बनाउनेछन् ।

पछिल्ला तीन संस्करण १३ औँ, १४ औँ र १५ औँ राष्ट्रपति रनिङ शिल्डमा अर्जुनधारा नगरपालिकाले लगातार उपाधि जित्दै ह्याट्रिक गरेको थियो । अघिल्लो संस्करणको प्रतियोगिता मेची रंगशाला भद्रपुरमा सम्पन्न भएको थियो ।

जिल्लास्तरीय प्रतियोगितामा छनोट भएका विद्यार्थी खेलाडीले प्रदेश र प्रदेशबाट छनोट भएका विद्यार्थीले राष्ट्रिय प्रतियोगितामा भाग लिने छन् ।

Adv footer