
बिर्तामोड, माघ १ । माघे सङ्क्रान्तिकै लागि पूर्वको सबैभन्दा ठुलो तरकारी बजार बिर्तामोड कृषि थोक बजारमा कन्दमुल किन्नेको भीड लागेको छ । बजार समितिको तथ्यांकअनुसार आज कृषि थोक बजारमा २४ हजार ३१४ किलो कन्दमूल भित्रिएको छ ।
यस वर्ष सबैभन्दा बढी तरुलको हिस्सा रहेको छ । सखरखण्ड र पिँडालु किन्ने पनि निक्कै छन् । बजारमा पाइने कन्दमूलको विविधता र मूल्यले पनि यतिबेला उपभोक्ताको ध्यान खिचेको छ । आपूर्ति बढे पनि ‘वनतरुल’ को माग र मूल्य दुवै उच्च देखिएका छन् ।
समितिको ३० पुसको मूल्य विवरणअनुसार वन तरुलको थोक मूल्य प्रतिकिलो १६० रुपैयाँदेखि १७० रुपैयाँसम्म पुगेको छ । त्यस्तै, औषधीय गुण मानिने स्कुसको जरा प्रतिकिलो १०० रुपैयाँदेखि १२० रुपैयाँमा किनबेच भइरहेको छ ।
त्यस्तै, सिमल तरुलको मूल्य २० रुपैयाँदेखि ३० रुपैयाँको बीचमा छ । घर तरुल ७० रुपैयाँदेखि ८० रुपैयाँ, सुटुनी ७० देखि ८० रुपैयाँ र तरुल १०० देखि ११० रुपैयाँसम्ममा उपलब्ध छन् ।
सामान्य घर तरुल र सुटुनी भने उपभोक्ताका लागि केही सुलभ बनेका छन् । यो मूल्य होलसेल भए पनि खुद्रामा भने उपभोक्ताले अलि बढी महँगो तिर्नुपर्ने हुन्छ ।


