२०८२ माघ १ बिहीबार
Jhapa Today
Adv top

अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई तत्काल भिसा नदिने


बिर्तामोड, माघ १ । अमेरिकी सरकारले आप्रवासन नीतिमा व्यापक फेरबदल गर्दै नेपालसहित ७५ देशका नागरिकलाई तत्कालका लागि आप्रवासी (ग्रिनकार्ड) भिसा नदिने निर्णय गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयलाई उद्धृत गर्दै फक्स न्युज र सिएनएन लगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यो नयाँ सूची सार्वजनिक गरेका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो कदमसँगै सार्वजनिक भएको यो निर्देशनले विशेषगरी पारिवारिक पुनर्मिलन र रोजगार–आधारित आप्रवासनको प्रक्रियामा रहेका हजारौँ नेपालीहरूलाई प्रत्यक्ष असर पार्ने देखिएको छ ।

सञ्चारमाध्यमहरूका अनुसार अमेरिकामा आएर सरकारी सेवा–सुविधा लिने विदेशी नागरिकहरूको संख्या बढेको भन्दै यस्तो कडाइ गरिएको हो ।

एक तथ्यांकअनुसार अमेरिकामा रहेका नेपालीमध्ये करिब एक–तिहाइले र भुटानी नागरिकहरूमध्ये ८२ प्रतिशतले सरकारी सुविधा उपयोग गर्ने गरेको दाबी गरिएको छ । सोही कारण अमेरिकी सार्वजनिक स्रोतमाथिको भार कम गर्न यो नीति ल्याइएको बुझिएको छ ।

यो नयाँ निर्णयले गैरआप्रवासी भिसातर्फ पर्यटक र विद्यार्थी भिसालाई भने कुनै असर नगर्ने बताइएको छ । तर, पर्यटक भिसामा जानेहरूका लागि नयाँ नियम लागु हुनेछ । जनवरी २१ देखि पर्यटक भिसाका आवेदकले ५ हजारदेखि १५ हजार डलरसम्म धरौटी बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

Adv footer