बिर्तामोड, माघ २ । झापाको बिर्तामोडमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
ठक्करबाट मोटरसाइकलमा रहेका श्रीमान श्रीमतीमध्ये चालकको मृत्यु भएको छ भने उनकी श्रीमती घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक बाह्रदशी-४ बस्ने ३२ वर्षीय खगेन्द्र मगर रहेका छन् । सोही मोटरसाइकलमा पछाडि रहेकी उनकी श्रीमती २५ वर्षीय सुकमाया तामाङ गम्भीर घाइते भएकी छन् ।
हिजो साँझ ७ः५० बजे बिर्तामोड-५ सिटी सेन्टरअगाडि पूर्वपश्चिम राजमार्गमा बिर्तामोडबाट बुट्टाबारीतर्फ जाँदै गरेको ना. ८ ख २२९७ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको (जलेर नष्ट भएको) मोटरसाइकल एकआपसमा जुधेका थिए ।
चालक मगरको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राति ९ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनापछि मोटरसाइकलमा आफैँ आगलागी भएर पूर्ण रुपमा जलेर नष्ट भएको छ । प्रहरी र बिर्तामोड नगरपालिकाको दमकलले उक्त आगलागी नियन्त्रणमा लिएको छ ।
ट्रक जिल्ला ट्राफिक प्रहरी कार्यालय र मोटरसाइकल इलाका प्रहरी कार्यालय बिर्तामोडको नियन्त्रणमा रहेको छ । ट्रक चालक तत्काल फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।


