
बिर्तामोड, माघ ३ । झापाको कमल गाउँपालिकामा रहेको एक उद्योग उत्पादन गर्दै आएको ‘हाइजेन रुहस’ ब्रान्डको म्यांगो ड्रिंक खान अयोग्य रहेको ठहर भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको बजार अनुगमनका क्रममा ‘हाइजेन रुहस’ ब्रान्डको म्यांगो ड्रिंक (फ्रुटी) खान अयोग्य रहेको ठहर भएको हो ।
उक्त ब्रान्डको फ्रुटी खान अयोग्य ठहर भएपछि विभागले ‘हाइजेन रुहस’ ब्रान्डको म्यांगो ड्रिंक बजारबाट तत्काल फिर्ता गर्न निर्देशन समेत दिएको छ ।
‘हाइजेन रुहस’ ब्रान्डको म्यांगो ड्रिंक (फ्रुटी) झापाको कमल गाउँपालिकास्थित हाइजेन प्याक्स नेपाल प्रालिले उत्पादन गर्दै आएको छ ।
तर, उक्त फ्रुटी प्रयोगशालामा परीक्षण गर्दा ‘कुल घुलनशील ठोस पदार्थ’ को मात्रा मापदण्ड अनुसार नभएको विभागले ठहर गरेको छ ।
फ्रुटीमा कैफियत देखिएपछि उक्त ब्रान्डका फ्रुटी तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिइएको विभागले जनाएको छ ।
विभागका अनुसार उक्त ब्रान्डका म्यांगो ड्रिंक ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ को दफा ३८ को उपदफा २ र ४ को प्रावधान अनुसार ब्याच नम्बरः एनएमआर १०७ एम १ का सम्पूर्ण खाद्य पदार्थ फिर्ता गर्न निर्देशन दिइएको छ ।


