२०८२ माघ ३ शनिबार
Jhapa Today
Adv top

मेचीनगरमा एउटै टोलका पाँचजना ‘पिएचडी होल्डर’


बिर्तामोड, माघ ३ । झापा मेचीनगर नगरपालिका वडा नम्बर ९ पछिल्लो समय शैक्षिक दृष्टिले उदाहरणीय बन्दै गएको छ । एउटै वडाबाट, अझ एउटै टोल र एउटै विद्यालयमा अध्ययन गरेका पाँचजना व्यक्तिले पिएचडी (डाक्टर अफ फिलोसोफी) उपाधि हासिल गरेपछि यो वडा विशेष चर्चा र गर्वको केन्द्र बनेको हो ।

मेचीनगर–९ निवासी डा. टिका भण्डारी, डा. हरिप्रसाद कट्टेल, डा. जीवनमणि पौडेल, डा. डिल्लीराम भण्डारी र केदारमणि नेपालले विभिन्न विषयमा विद्यावारिधि हासिल गर्दै वडाको शैक्षिक पहिचानलाई राष्ट्रिय स्तरसम्म चिनाएका छन् ।
अझ रोचक पक्ष के छ भने उनीहरुको घर एकआपसमा छेउछाउमै छन् र बाल्यकालदेखि नै उनीहरु एउटै शैक्षिक वातावरणमा हुर्किएका हुन् ।

यी पाँचैजना मेचीनगर–९ स्थित कविशिरोमणि माध्यमिक विद्यालयका पूर्वविद्यार्थी हुन् । सीमित स्रोतसाधन, ग्रामीण परिवेश र सामान्य पारिवारिक पृष्ठभूमिबाटै उच्च शैक्षिक लक्ष्य तय गरेर अघि बढेका उनीहरुको यात्रा अहिलेका विद्यार्थीहरुका लागि प्रेरणाको स्रोत बनेको छ ।

विद्यालयमा सँगै पढ्दा देखिएको मेहनत, प्रतिस्पर्धा र आपसी सहयोग नै आजको उपलब्धिको जग बनेको उनीहरु बताउँछन् ।
डा. टिका भण्डारीका अनुसार ‘हामीले सानैदेखि पढाइलाई जीवनको मुख्य आधार बनायौँ । एउटै टोलमा बस्दा एकअर्कालाई अघि बढ्न प्रेरणा मिलिरह्यो ।’ डा. हरिप्रसाद कट्टेल पनि सहमत छन् । उनी भन्छन्, ‘साथी सफल हुँदा आफूलाई पनि अझ मेहनत गर्नुपर्छ भन्ने भावना जाग्थ्यो ।’

डा. जीवनमणि पौडेल र डा. डिल्लीराम भण्डारीले पनि विद्यालयका शिक्षक, अभिभावक र सामाजिक वातावरणले आफूहरुलाई निरन्तर हौसला दिएको स्मरण गर्छन् । कविशिरोमणि विद्यालयका शिक्षकहरुले हाम्रो क्षमता चिनेर मार्गदर्शन नगरेको भए यहाँसम्म आइपुग्न गाह्रो हुन्थ्यो,’ उनीहरुको भनाइ छ ।

स्थानीय बासिन्दाहरुका लागि यी पाँच पिएचडी केवल व्यक्तिगत सफलता मात्र होइन, सम्पूर्ण वडाको सामुहिक उपलब्धि बनेको छ । छिमेकीहरु गर्वका साथ आफ्ना छोराछोरीलाई उनीहरुको उदाहरण दिँदै ‘यही टोलबाट डाक्टर बनेका हुन्’ भनेर प्रेरित गर्ने गर्छन् । यसले वडामा पढाइप्रतिको आकर्षण बढेको स्थानीयको अनुभव छ ।

वडा नम्बर ९ का सामाजिक व्यक्तित्वहरु यस उपलब्धिलाई ऐतिहासिक मान्छन् । त्यस्तै, विद्यालय व्यवस्थापन समिति अध्यक्ष संगीता थापाले एउटै वडाबाट, एउटै विद्यालय पृष्ठभूमिका पाँचजना पिएचडी उत्पादन हुनु मेचीनगरकै लागि दुर्लभ र प्रेरणादायी भएको बताइन् । आगामी दिनमा यस्ता प्रतिभालाई सम्मान गर्ने र नयाँ पुस्तालाई अध्ययनतर्फ आकर्षित गर्ने कार्यक्रम ल्याउने तयारीसमेत भइरहेको उनले बताइन् ।

एउटै टोल, एउटै विद्यालय र एउटै सपना बोकेर हिँडेका यी पाँच पिएचडी आज मेचीनगर–९ को शैक्षिक पहिचान बनेका छन् । उनीहरुको सफलता कथाले देखाउँछ सपना ठुलो हुनुपर्छ, मेहनत निरन्तर हुनुपर्छ, अनि स्थान वा परिस्थितिले प्रगतिको बाटो रोक्दैन ।

Adv footer