
बिर्तामोड, माघ ६ । झापामा पछिल्लो ६ महिनामा सडक दुर्घटनामा २९ जनाको मृत्यु भएको प्रहरीको तथ्यांकले जनाएको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि पुस मसान्तसम्ममा २९ जनाको मृत्यु भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईका अनुसार सो अवधिमा जिल्लामा ६०५ वटा सडक दुर्घटना भएका छन् । ती दुर्घटनामा ५५ जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा एक हजार ४२ जना सामान्य घाइते भएका छन् । दुर्घटनामा संलग्न कुल ८७४ वटा सवारी साधानमध्ये अधिकांश दुईपांग्रे अर्थात् ५९६ वटा दुईपांग्रे रहेका छन् । त्यस्तै, चारपांग्रे साना १३५ वटा, मझौला ७३ वटा, ठुला ५१ र नखुलेका १९ वटा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
पछिल्लो छ महिनामा सबैभन्दा धेरै पुस महिनामा सडक दुर्घटनामा नौजनाको मृत्यु भएको छ भने साउन तीन, भदौमा चार, असोजमा छ, कात्तिकमा पाँच र मंसिरमा दुईजनाको मृत्यु भएको कार्यालयले जनाएको छ ।
सोही अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने ११ हजार ३१ वटा सवारी साधानलाई कारबाही गरिएको छ । जसबाट एक करोड छ लाख ६० हजार ५३५ रुपैयाँ राजश्व समेत संकलन गरिएको कार्यालयले जनाएको छ ।


